
काठमाडौं । इजरायली सुरक्षा बलले प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको एजेन्सी यूएनआरडब्ल्यूएले सञ्चालन गरेका तीनवटा विद्यालयहरू बन्द गराएको छ । यी विद्यालयहरू इजरायलनियन्त्रित पूर्वी जेरुसलेममा छन् ।
बिहीबार बिहान कक्षा सुरु भएको केही समयपछि शुआफट शरणार्थी शिविरमा रहेका यी विद्यालयहरूबाट सयौँ प्यालेस्टिनी विद्यार्थीलाई घर पठाइएको सीएनएनले जनाएको छ ।
यूएनआरडब्ल्यूएका कमिश्नर–जनरल फिलिप लाजारिनीले इजरायली अधिकारीहरूले बालबालिकाहरूको शिक्षा पाउने आधारभूत अधिकारबाट वञ्चित गरिरहेको बताएका छन् । उनले यसलाई अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन गरेको आरोप लगाएका छन् ।
यसवर्ष सुरुआतमा इजरायलले यूएनआरडब्ल्यूएमाथि प्रतिबन्ध लागाएको थियो । इजरायलले उक्त संस्थामा हमासको घुसपैठ भएको आरोप लगाएको छ । यूएनआरडब्ल्यूएले यो आरोप अस्वीकार गर्दै आफ्नो निष्पक्षताको दाबी गरेको छ ।
इजरायली सुरक्षाबल आएपछि शुआफटको एक विद्यालय बाहिर युनिफर्ममा रहेका बालिकाहरूले एकअर्कालाई अँगालो हालेको भिडियो देखिन्छ ।
“यो स्थानमा शैक्षिक संस्था चलाउन, शिक्षक, शिक्षण कर्मचारी वा अन्य कुनै पनि कर्मचारी राख्न वा विद्यार्थीलाई राख्न वा प्रवेश दिन निषेध गरिएको छ,” विद्यालयको पर्खालमा टाँगिएको बन्द आदेशमा लेखिएको छ । बीबीसी