
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिको राहत, पुनर्स्थापनालाई प्राथमिकताका साथ तीव्रता दिइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।
गत ०७९ कात्तिक २३ गते डोटीमा, ०८० असोज १६ गते बझाङमा र ०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर ठूला भूकम्प गएका थिए । ती भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।
गृहमन्त्री लेखकले भूकम्प प्रभावित जिल्लाहरूमा अस्थायी आवास निर्माणका लागि जाजरकोटमा एक अर्ब ९१ करोड ९१ लाख ७५ हजार रुपैयाँ, रुकुम पश्चिममा एक अर्ब ६१ करोड २२ लाख, सल्यानमा सात करोड, बाजुरामा १० करोड ५० लाख, बझाङमा २५ करोड, जुम्लामा एक लाख ७५ हजार गरी हालसम्म जम्मा तीन अर्ब ९५ करोड ६५ लाख ५० हजार रुपैयाँ रकम उपलब्ध गराइएको जानकारी दिए । अन्य जिल्लामा पनि क्षतिको अवस्थाअनुसार रकम उपलब्ध गराइसकिएको उनले बताए ।
प्रभावित जिल्लाहरूमा विस्तृत क्षति आकलनको कार्य अगाडि बढेको बताउँदै उनले हालसम्म जम्मा ३७ हजार नौ सय ३८ घरको विस्तृत क्षति आकलन सम्पन्न भएको जानकारी दिए । उनले प्रभावितहरुलाई सरकारका तर्फबाट उपलब्ध गराइने सेवा सुविधा उपलब्ध गराइरहेको बताए ।
डोटी भूकम्पका कारण नौ हजार ६८१, डडेल्धुरामा ८५, डोटीमा एक हजार ३६५, बझाङ एक हजार ७४०, अछाममा पाँच हजार ४४१ घरधुरीको विस्तृत क्षति आकलन सम्पन्न भएको र तीमध्ये एक हजार ८५६ जना सँग सम्झौता भइसकेको उनले जानकारी दिए ।
छुट भएका १३ हजार ५७६ घरधुरीको विस्तृत क्षति आकलनका लागि सुदूरपश्चिम विश्वविद्यालयसँग प्रस्ताव माग भई सम्झौता प्रक्रिया अघि बढेको छ । गृहमन्त्री लेखकका अनुसार गत असोजको मनसुनका कारण क्षति भएका निजी आवासको सम्बन्धमा संकटग्रस्त क्षेत्र घोषणा भएका २० जिल्लाका ६ हजार २५४ घरधुरी अस्थायी आवासका लाभग्राही कायम भएका छन् ।
“जसमध्ये पाँच हजार ८६१ लाभग्राहीसँग सम्झौता भइसकेको र तीन हजार ७५५ जनाले पहिलो किस्ता बापतको अस्थायी आवासको रकम नौ करोड ३८ लाख ७५ हजार पाइसकेका छन्,” गृहमन्त्री लेखकले भने, “काभ्रे जिल्लामा ५४९ घरधुरी विस्तृत क्षति आकलन सम्पन्न भइसकेको छ भने बाँकी घरधुरीका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट दुईदिने तालिम प्रदान गरी प्राविधिक खटाउने तयारी भएको छ ।”
वर्षाका कारण हुनसक्ने सम्भावित क्षति कम हुने गरी सबै जिल्लामा यससम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्य गरिएको उनले बताए । विपद्का घटना घटेमा तालिम प्राप्त जनशक्ति परिचालन गर्ने र जनशक्तिको सुरक्षासहित उपलब्ध यन्त्र उपकरणको अधिकतम परिचालन गर्ने गरी तयारी भएको मन्त्री लेखकले बताए ।
देशका विभिन्न जिल्लामा भएका आगलागी, सडक दुर्घटनाका घटनाबारेमा सुरक्षा निकायले उपलब्ध स्रोत र साधनको सीमाभित्र रहेर घटनाको व्यवस्थापन गर्ने, नियमानुसारको राहत उपलब्ध गराउने र आवश्यकता अनुसारको थप अनुसन्धान गर्ने कार्य गरिरहेको गृहमन्त्रीले जानकारी दिए ।
आगामी दिनमा सार्वजनिक बिदाको पुनरावलोकन गरी वस्तुनिष्ठ बनाउने विषयलाई गम्भीरतापूर्वक लिइने मन्त्री लेखकले बताए ।