
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्र भएको बताएका छन् । हरेक स्रष्टाले आफ्नो सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उनले उल्लेख गरे ।
नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई आज राष्ट्रपति कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले भने, ‘लेखक स्वयंमा सत्ता हो, संगठन हो, विचार हो, अभियान हो ।’
गत चैत १६ र १७ गते लुम्बिनीमा आयोजित आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा संघको नयाँ कार्य समिति निर्वाचित गरेको थियो । नवनिर्वाचित कार्य समितिलाई राष्ट्रपति पौडेलले बिहीबार एक कार्यक्रमबीच बधाई तथा शुभकामना दिएका हुन् ।
उक्त अवसरमा राष्ट्रपति पौडेलले भने, “यस्तो गरिमामय नेपाली लेखक संघको नव निवार्चित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।” संघले लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताको वकालत गर्दै आएको इतिहास समेत उनले स्मरण गरे ।
राष्ट्रपति पौडेलले भर्खरै जन्मेको शिशु प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने ऐतिहासिक आवश्यकताका खातिर सर्जकले आफ्नो सामाजिक दायित्व लेखक संघमार्फत पूरा गर्न खोजेको यसका पुराना दस्ताबेजले देखाएको बताए ।
लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समजस्ता साहित्यिक महारथी संगठित भएको लेखक संघमा विश्वेश्वरप्रसाद कोइराला र हृदयचन्द्रसिंह प्रधानलगायत हस्ती पनि एकताबद्ध भएको उनले चर्चा गरे ।
कार्यक्रममा नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिका अध्यक्ष वियोगी बुढाथोकीलगायतको उपस्थिति थियो ।
नेपाली लेखक संघको स्थापना विसं २००८ सालमा भएको हो । नेपालको पहिलो प्रजातान्त्रिक परिवर्तनपछि स्वतन्त्र विचारधारा भएका लेखक संगठित भएर नेपाली लेखक संघको स्थापना गरेको इतिहास छ ।
२०१७ पछिको लामो पञ्चायती कालखण्डमा निष्क्रिय जस्तै रहेको नेपाली लेखक संघ, २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भएपछि नयाँ संरचना सहित पुनःक्रियाशील बनेको हो ।