
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिको ओज खस्किन थालेको बताएका छन् । आइतबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद सिंहले विभिन्न 'अनियमितता'बारे निष्कर्षमा पुग्न नसक्दा समितिको गरिमा घटिरहेको बताए ।
"डेडिकेटेड र ट्रंकलाइनको छलफल भयो, तर त्यसको कुरा कहाँ पुग्यो ? एनसेलको कुरा कहाँ पुग्यो ? यसरी प्रत्येक दिन हाम्रो ओज कम हुँदै छ । लेखा समितिले भ्रष्टाचार नियन्त्रणभन्दा बढाउने काम भयो । डन्डी र सिमेन्टको भाउको कुरा के भयो ?," सिंहले प्रश्न गरे ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे सबैलाई थाहा भए पनि समितिले सम्बोधन गर्न नसकेको आरोप लगाए । पछिल्लो समिति 'व्यापारीको साथी' बनिरहेको उनको आरोप छ ।
"पोखरा विमानस्थलमा भ्रष्टाचार भएको सबैलाई थाहा छ । दलको नेता र सरकार समस्यामा पर्छ भनेर समितिमा पर्न थाल्यो । व्यवस्थामाथि कुरा उठेको भ्रष्टाचारले हो । रेगुलर मिटिङ राखेर यो इस्यू सम्बोधन गर्नुपर्छ । लेखा समिति अहिले व्यापारीहरूको साथी भएको छ," उनको आरोप छ ।
सांसद सिंहले पोखरा विमानस्थलको छानबिन चाँडो सक्नुपर्नेमा जोड दिए ।