
काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार निर्माणपक्षले एक कार्यक्रम आयोजना गर्दै ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा घर नै सबैथोक हो भन्ने गलत भाष्यलाई केन्द्रमा रोखिएको छ । घरलाई प्रतिष्ठासँग जोडेर हेर्ने नेपाली समाजको प्रष्ट अनुहार ट्रेलरले देखाइदिएको छ ।
बाहिर देखिने ठूलो घर र घरभेटीको वास्तविकता के हुन्छ भन्ने पनि ट्रेलरमा देख्न सकिन्छ ।
घर जोगाउन र जोड्न युवा पुस्ताले गरिरहेको संघर्ष ट्रेलरमा समेटिएको छ । निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा : घर नं २’लाई निर्देशन गरेका छन् । यो सिनेमा जेठ २ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।