
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद र लज्जास्पद भएको बताएका छन् । सोमबार (वैशाख १५) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
सांसद बडूले उपचाररत शिक्षकको स्वास्थ्यलाभको कामना गरे । उनले सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिए । “२७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा हिजो १४ गतेका दिन अकस्मात् दुवैतर्फबाट बल प्रयोगको अवस्था सिर्जना हुनु दुःखद छ । लज्जास्पद पनि छ,” उनले भने, “उपचाररत सबै शिक्षकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु ।”
दमनतर्फ नभई जायज मागलाई सम्बोधन गर्न अग्रसर बन्न सरकारलाई उनले सुझाव दिए । उनले प्रस्तावित विद्यालय शिक्षा विधेयक अविलम्ब संसद्मा प्रस्तुत गर्न र समस्या समाधानमा हालसम्मको प्रगतिका बारेमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका सामुदायिक विद्यालयका शिक्षक २७ दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् । आन्दोलनका क्रममा आइतबार प्रहरीसँग झडप हुँदा शिक्षकहरू घाइते भएका थिए । न्युज एजेन्सी नेपाल