
काठमाडौं । अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । निर्देशक अशोक र धिरजले दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनीहरुले गतवर्षको ‘खुस्मा’मा सहकार्य गरेका थिए ।
बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको सिनेमाको केही दिन अगाडि पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । धिरजले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताएका प्रेस नोटमा उल्लेख छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमामा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको छ । मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु सिनेमा हो ।
कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतीक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यो सिनेमाको छायांकन तीन चरणमा गरिनेछ ।