
काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले पत्रकारलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा जारी निजामती विधेयकका सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सांसद पन्तले पत्रकारको कारण मिथ्या सूचना फैलिने डरले सरकारी कर्मचारी समितिमा आएर बोल्ने अवस्था नरहेको बताए ।
पन्तले आफूले अन्तर्राष्ट्रिय अभ्यास हेरेको बताउँदै समिति बैठकमा पत्रकारलाई प्रतिबन्ध लगाएर फाइनल रिपोर्टमात्रै दिनुपर्ने जिकिर गरे । उनले आफूहरूले भ्रष्टाचारीलाई जोगाउन भने नखोजेको स्पष्टीकरण दिए ।
"यहाँ मिसइन्फर्मेसन हुन थाल्यो । अर्कोपटक को मुख्यसचिव आउँछ ? जसले यहाँ बोलेको कुरा बाहिर अपव्याख्या भएर उसको विरुद्धमा नारा लाग्न थालेपछि कुन मुखले मुख्यसचिवले आएर बोल्छ ? को कर्मचारी आएर बोल्छ समितिमा ? हामीले उत्तरदायी हुनुपर्दैन ?," उनले भने ।
"इन्टरनेसनल प्राक्टिस पनि हेरौँ हामीले यत्तिकै भनेको होइन । मैले अमेरिका, क्यानडा, अस्ट्रेलियाको प्राक्टिस हेरेँ । पत्रकारको लागि १०० मा १०० प्रतिशत कुनै पनि बैठक खुला हुँदैन । भारत र बंगलादेशमा समितिको बैठकमा प्रेसलाई नो इन्ट्री छ । फाइनल रिपोर्टमात्र दिने हो । समितिले फाइनल गरेपछि मात्रै प्रेसको हातमा पुग्नुपर्यो," पन्तले थपे ।
समितिले पारित नै नगरेको 'भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने' विषय बाहिर आएकोप्रति उनको आपत्ति थियो । संसदीय उपसमितिले अवकाशप्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचारलगायत कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो ।