
काठमाडौं । युक्रेनको उत्तर–पूर्वी सहर सुमीको केन्द्रमा रुसले गरेको ब्यालिस्टिक मिसाइल हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
उक्त हमलामा ८३ जना घाइते भएको युक्रेनी आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मृतकमध्ये सातजना बालबालिका रहेको बताइएको छ ।
अधिकारीहरूका अनुसार यो घटनामा सडक, कार, सार्वजनिक यातायातमा र घरहरूमा रहेका मानिस घाइते भएका हुन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई एउटा साधारण सहरको सडकमा भएको भयावह हमला बताउँदै घटनास्थलमा खोज उद्धार अभियान जारी रहेको बताएका छन् ।
राष्ट्रपति जेलेन्स्कीले विश्वका नेताहरूलाई यो हमलाको विरुद्ध कडा प्रतिक्रिया जनाउन आह्वान गर्दै रुसले यस्तै आतंक मच्चाउन चाहेको र यो युद्धलाई लम्ब्याउन खोजेको बताए ।