
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोकिएका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । आइतबार झापाको गौरादहमा नगर अस्पतालको शिलान्यास गर्दै उनले रोकिएका सडक योजना तथा पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।
उनले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तीव्र पारिने बताए । "अब अहिले बजेट बनाउने बेला भएको छ, अर्थतन्त्र बिग्रेको अवस्थामा थियो," उनले भने, "बल्ल हामीले बिगारेको अर्थतन्त्र सही दिसामा ल्याएका छौँ, नयाँ काम र ठूला योजना ल्याउन अवस्था छैन ।"
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा सरकारले काम गरिररहेको बताए । उनले सहकारीमार्फत कृषिको अनुदान र युवालाई स्टार्टअप कर्जाका लागि आवेदन दिन सकिने बताए ।
झापा–५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका ओलीले गौरादहको अस्पताल सुविधा सम्पन्न हुने बताए । उनले विस्तारै डायलासिस, आँखा उपचारसहितका उपचार सुरु गरिने बताए ।
नगर प्रमुख छत्रपति सुवेदीले १५ शय्याको गौरादह नगर अस्पताल ०८३ माघमा सम्पन्न गर्ने गरी काम भइरहेको बताए । उनका अनुसार, १२ करोड ५९ लाख ७९ हजार रुपैयाँ लागतमा ३२ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुनेछ ।
सोही अवसरमा अस्पताल निर्माणमा जग्गादान गर्ने परिवारलाई सम्मानसमेत गरिएको थियो ।