
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर बढाएपछि विश्वमा अघोषित रूपमा व्यापार युद्ध सुरु भएको छ । भन्सार दरका कारण विश्वको पेट्रोलियम बजार तरंगित बनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६० अमेरिकी डलरमा आएको छ । सोमबार डब्ल्यूटीआई क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ६०.६४ डलर कायम भएको छ ।
यस्तै, ब्रेन्ट क्रुडमा ब्यारेलको ६४.१७ र मेरवान क्रुडमा ब्यारेलको ६६ डलरमा कच्चा तेलको कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ ।
गएको शनिबारदेखि राष्ट्रपति ट्रम्पले भन्सार शुल्क लगाइसकेका छन् । राष्ट्रपति ट्रम्पले मुलुकअनुसार न्यूनतम १० देखि ५० प्रतिशतसम्म भन्सार दर लगाएका छन् ।
नयाँ भन्सार दर लागु भएपछि यो हप्ता तेलको मूल्य १० प्रतिशतभन्दा बढी घटेको छ । विश्वव्यापी तेलको मूल्यमा एकैदिनमा ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । ट्रम्पको नयाँ भन्सार दरले विश्वभर ठूलो व्यापार युद्ध आउने भएपछि यसको असर कच्चा तेलको मागमा परेको बताइएको छ ।
भण्डारण गर्दै र आफ्नो स्रोत जोगाउँदै आएको अमेरिका आफैँले अब विश्वबजारमा तेल बेच्ने तयारी गरेको छ । भारतलाई तेल किन्न अमेरिकाले दबाब दिएको छ ।
अमेरिकाले तेल बेच्न थालेपछि विश्वबजारमा पेट्रोलियम पदार्थको भाउ अझ घट्ने देखिएको छ । यसको असर तेल उत्पादक तथा निर्यातक मुलुकको संगठन (ओपेक)लाई पर्ने देखिएको छ ।
रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वबजारमा कच्चा तेलको भाउ अकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि यसको असर नेपाली बजारमा पर्ने भएको छ ।
नेपालमा पनि अब पेट्रोलियम पदार्थ अझै सस्तो हुने देखिएको छ । पछिल्लो समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाइरहेको छ ।