
काठमाडौं । दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो ।
चितवनले पहिलो हाफमा नै अग्रता लिएको थियो । झापाले भने इन्जुरी समयमा गोल फर्काउँदै बराबरी गरेको हो ।
२८औँ मिनेटमा चितवनका टोरिक जेब्रिनले टोलीलाई अग्रता दिलाए । उनले शिशिर लेखीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । चितवनका निरज चौधरीले आरोन थापालाई १८ यार्ड बक्सभित्र लडाएपछि पाएको पेनाल्टी अवसर अल्हाजी गेरोले गोलमा परिणत गरे ।
यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अंक पुर्याएको छ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्को खेलमा बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले हराएको थियो । झापाको समान खेलबाट तीन अंक भएको छ । झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्ससँग बराबरी खेलेको थियो ।