
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखा र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा श्री भगवती र च्यासलले गोलरहित बराबरी गर्दै अंक बाँडेका हुन् ।
खेलको निर्धारित र इन्जुरी समयमा थुप्रै अवसर सिर्जना गरे पनि गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको थियो ।
इन्जुरी समयमा भगवतीका सुलेमान थापामगरले पेनाल्टी बक्सभित्र सुन्दर अवसर गुमाएका थिए । उनले दिवस छन्त्यालको पासमा पेनाल्टी बक्सभित्र प्रहार गरेको सट पोष्टको माथिबाट बाहिरियो ।
खेलमा च्यासलका सुवास बमले २२औँ मिनेटमा र श्री भगवतीका अजित लामाले पहिलो हाफको इन्जुरी समयमा पहेँलो कार्ड पाए ।
अंक तालिकामा दोस्रो स्थानमा रहेको श्री भगवतीले तीन जित र एक बराबरी गर्दै कुल पाँच खेलबाट ११ अंक बनाएको छ । यो भगवतीको दोस्रो बराबरी हो । उसले यसअघि बीरगन्जसँग १–१ को बराबरी गरेको थियो ।
च्यासलले पनि दोस्रो बराबरी गर्दै दुई जित र एक हारबाट अंक तालिकाको चौथो स्थानमा रही कुल आठ अंक बनाएको छ ।