site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविलाई सभामुखले भने– तपाईंको निलम्बन फुकुवा गर्न सक्दिनँ

काठमाडौं । सभामुख देवराज घिमिरेले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् । मंगलबार आफूलाई भेट्न आएका लामिछानेसहित रास्वपाका नेताहरूलाई घिमिरेले निलम्बन आफूले नगरेको स्पष्ट पारेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

“तपाईंको सांसद पद सभामुखले निलम्बित गरेको अवस्था होइन । कानुनः त तपाईंको पद निलम्बित भएको हो,” सभामुखको भनाइ उद्धृत गर्दै अधिकारीले बाह्रखरीसँग भने, “त्यसकारण मैले निलम्बन फुकुवा गर्न सक्दिनँ भन्ने कुरा बुझिदिनुपर्‍यो ।”

Argakhachi Cement Island Ad

सभामुखको भनाइपछि लामिछाने बिदा मागेर बाहिरिएका थिए । सभामुखसँगको भेटपछि लामिछानेले आफूलेसँग निलम्बन फुकुवा गरिदिन आग्रह गरेको बताए ।

“संसद्को विषय संसद्‌बाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो । म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ । तर, एउटा कुरामा सभामुख के सही हुनुभयो भने यसले भोलि प्रतिशोधको रूप लिन्छ है, भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुन सक्ने सम्भावना हुन्छ भन्नुभयो," बैठकपछि लामिछानेले भने ।

पार्टीको जिम्मेवारीमा फर्किएपछि लामिछानेले सभामुखलाई भेटेर सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेका हुन् । सभामुखलाई भेट्न लामिछानेको साथमा उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार र सचेतक निशा डाँगीसहित सहभागी गिए ।

यसअघि, उनले गत माघ १८ गते सभामुखलाई भेटेर निवेदनसहित निलम्बन फुकुवा गर्न माग गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्