
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा लामिछानेले आफूले लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न नछाड्ने बताए ।
“लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछने चुप बस्दैन । लुटतन्त्रलाई टुलुटुलु हेर्न सकिनँ र निस्किएँ,” लामिछानेले भने, “चारवटा अदालतमा मुद्दा लगाएर शिरमाथि तरवार झुन्डिएको छ । तरवार झर्छ र काट्छ भने तयार छु, सम्मानित अदालतप्रति मेरो विश्वास छ ।”
उनले रास्वपा बलेको आगो ताप्ने दल नभएको पनि बताए । उनले रास्वपाको गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नगर्न पनि आग्रह गरे ।
“जहाँ आगो बल्छ, त्यही आगो ताप्न जाने मान्छे रवि लामिछाने होइन,” लामिछानेले भने, “गणतन्त्रवादी होइनौँ कि भनेर हिलो छ्याप्न खोज्नुभएको छ । तपाईंहरू गणतन्त्रवादी होइन, लोकतन्त्रवादी होइन, लोकतन्त्र र गणतन्त्रको खोल ओढ्नुभएको छ ।”
दुई पार्टीले लोकतन्त्रको खोल ओढेको भन्दै उनले उनीहरूको लाइनमा उभिएर फोटो खिच्न आतुर नरहेको बताए ।
“उनीहरूले लुटतन्त्र मच्चाइरहेका छन् । यसका विरुद्ध लड्ने छौँ मर्नुपरे पनि तयार छौँ,” लामिछानेले भने, “रास्वपा फुटाउन सकिन्छ कि भनेर मानिसहरू लागिरहेका छन् । म यसबाट बच्नका लागि आह्वान गर्छु ।”
आफूविरुद्धको मुद्दाप्रति आक्रोशित देखिएका उनले अदालतले लिएको धरौटीमा भने प्रश्न गरेनन् । “के चाहिएको यो सरकारलाई,” लामिछानेले प्रश्न गरे ।
उनले प्रमुख दुई पार्टीको सरकारले प्रतिपक्षविहीन बनाएको पनि बताए । रास्वपा भएकै कारण सदनको औचित्य देखिएको उनको तर्क छ ।
“यो दुईवटा मुख्य पार्टी मिलेर बनेको सरकारले पार लगाउनेवाला छैन,” लामिछानेले भने, “दुईवटा चोर मिलेर साधु हुँदैन ।”