
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय राजावादीका शृंखलाबद्ध गतिविधिबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् । सोमबार (चैत १८) प्रतिनिधिसभा बैठकमा सम्बोधनक्रममा उनले पछिल्ला प्रदर्शन र हिंसाका विषयमा पूर्वराजाको धारणा माग गरेका हुन् ।
“फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?,” प्रधानमन्त्री ओलीले प्रश्न गरे ।
मानिसलाई मर्न दुरुत्साहन गर्ने व्यक्तिलाई पूर्वराजाले ‘जनकमान्डर’ बनाएको उनले आरोप लगाए । इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक बनेको उनले उल्लेख गरे ।
“धनजनको क्षति र लुटपाट – शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुनसक्छ ?,” प्रधानमन्त्री ओलीले भने, “यी सबै घटनाको मूल जिम्मेवार उहाँ (ज्ञानेन्द्र शाह) हो, उहाँले लिनुपर्छ ।”