
काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । आइतबार (चैत १७) जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।
झडपक्रममा एक दर्जनभन्दा बढी स्थानीय र केही प्रहरी समेत घाइते भएका बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।
१५ दिनअघि होलीको दिन बिन्धीमा चक्कु प्रहार गरी १७ वर्षीय आशु यादवको हत्या गरिएको थियो । घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि ६ जना फरार छन् ।
हत्यामा संलग्न अरू व्यक्तिलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । उनीहरूले आइतबार बिहानैदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । न्युज एजेन्सी नेपाल