
काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा फर्किने भएका छन् । नेतृत्व छाडेको १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्किन लागेका हुन् ।
लामिछाने गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो ।
०८१ पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई दिएका थिए ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, सोमबार (भोलि) रास्वपाको केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ । “पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ । सोही बैठकले सभापतिमा रवि लामिछानेलाई जिम्मेवारी तोक्ने निर्णय गर्नेछ,” झाले भने, “दोस्रो चरणमा लामिछानेकै सभापतित्वमा बैठक बस्नेछ ।”
नेता कार्यकर्ता र मतदाताको मागअनुसार रास्वपाले लामिछानेलाई जिम्मेवारीमा फर्काउन लागेको उनको भनाइ छ ।
सहकारी ठगीमा चारवटा अदालतमा धरौटी तारिख पाएका लामिछानेले तीनवटामा पुनरावेदन दर्ता गरिसकेका छन् ।
यसअघि, रास्वपाले वीरगञ्जको सानो पाइला सहकारीमा अभियोजन र सुनुवाइपछि मात्र लामिछानेलाई पार्टी भूमिकामा फर्काउने जनाएको थियो । तर, अहिले रास्वपाले 'विशेष परिस्थिति' बताएर लामिछानेलाई नेतृत्वमा फर्काउन लागेको हो ।
“देशमा फरक परिस्थिति निर्माण भएको छ । पुरानाहरूले फेरि इतिहासलाई पछाडि फर्काउने घोषणा र प्रयत्न गरिरहेका छन्,” झाले बाह्रखरीसँग भने, “यस्तो अवस्थामा जनताको नयाँ आशा बोकेको पार्टीको विशेष भूमिका आवश्यक हुने भएकाले पनि यस्तो निर्णयमा जान लागेका हौँ ।”
उनले अदालतका विषय चल्दै जाने र त्यसको सम्मान गर्दै रास्वपा अघि बढ्ने बताए ।