
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शुक्रबार तीनकुनेमा राजवादीहरूले गरेको हिंसात्मक प्रदर्शनका योजनाकारलाई कारबाही गर्न माग गरेको छ ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहकै योजनामा हिंसात्मक प्रदर्शन भएको आरोप लगाएका छन् ।
“ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ठा थियो । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको छ,” विज्ञप्तिमा उनले भनेका छन्, “नेकपा एसको पार्टी कार्यालय एवं निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोरभित्र पसेर सामान लुट्नेजस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको निन्दा गर्छु ।”
घटनाका योजनाकार र उक्साउनेलाई पक्राउ गर्न माओवादीले माग गरेको छ । हिंसात्मक एवं आपराधिक कार्य गर्न/गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र थप अनुसन्धान गरी दोषीलाई कडा कारकाही गर्न सरकारसँग उनले माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “यसप्रकारका सबै आपराधिक कार्यलाई कानुनको दायरामा ल्याई विधिको शासन कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरिन्छ ।”