
काठमाडौं । तीनकुनेमा राजावादीहरूको प्रदर्शनले अराजक रूप लिँदा दुईजनाको मृत्यु भएको छ । कीर्तिपुरका युवा सविन महर्जनको गोली लागेर ज्यान गएको हो भने पत्रकार सुरेश रजकको प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर मृत्यु भएको हो ।
गृह मन्त्रालयले दिएको जानकारीअनुसार महर्जनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो, भने पत्रकार रजकको घरभित्रको चौथो तल्लामा लागेको आगोमा परेर ज्यान गएको हो ।
राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यसहितका माग गर्दै शुक्रबार (चैत १५) मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कमाण्डमा तीनकुनेमा प्रर्दशन भएको थियो । आन्दोलन परिचालनको समितिको संयोजक भने नवराज सुवेदी हुन् ।
प्रदर्शनमा उत्रिएका राजावादी समूहले शुक्रबार निजी घरहरू र प्रहरीमाथि नै आक्रमण गरेका छन् । जसकारण शुक्रबार बिहानदेखिनै तीनकुनेको सुरक्षा अवस्था भयावह बन्दै गएको हो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ अश्रुग्यास र केही राउन्ड हवाइ फायर र गोली समेत चलाउनु परेको थियो । प्रदर्शनकारीले तीनकुने पुल नजिकैको एक घरमा ढुंगा प्रहार गर्नुका साथै आगजनी समेत गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए ।
प्रदर्शनमा उत्रिएका समूहले अन्नपूर्ण मिडियाको कर्पोरेट हाउस, कान्तिपुर टेलिभिजन, कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट र जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा समेत आगजनी गरेका छन् । प्रशोधन कम्पनीको आगो अझै नियन्त्रणबाहिर छ ।
राजावादी समूहले तोडफोड र आगजनी गरेपछि कम्पनीका कर्मचारीको भागदौड भएको थियो । प्रदर्शनका क्रममा कतिको हताहती भयो भन्नेबारे अझै सबै खुल्न नसकेको डीआईजी आचार्यको भनाइ छ । प्रदर्शनकारीले प्रहरीलेको अश्रुग्यास प्रहार गर्ने बन्दुक समेत खोसेका थिए ।
प्रदर्शनलाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू विक्रम पाण्डे, प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा, रवीन्द्र मिश्र लगायतका नेता तीनकुने पुगेका थिए । तर, उनीहरूले सम्बोधन भने गर्न पाएनन् ।
कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले अश्रुग्यास प्रहार गर्दा अवस्था बिग्रिएको र त्यसको जिम्मा सरकारले लिनुपर्ने प्रसाईं लगायतको भनाइ छ । प्रसाईंले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आजको घटनाको जिम्मा सरकारले लिनुपर्ने र आफ्नो पक्राउले अब आन्दोलन नरोकिने बताएका छन् ।
कहाँ चुक्यो सुरक्षा निकाय ?
शुक्रबार आयोजना गरिएको राजावादीको प्रदर्शन पूर्वनिर्धारित कार्यक्रम हो । केही महिनादेखि नै पूर्वराजा ज्ञानेन्द्र शाह आफैँ विभिन्न जिल्लाको दौडमा पुगेका थिए । कास्कीबाट फागुन २५ मा काठमाडौं फर्किँदा समेत ज्ञानेन्द्र शाहका समर्थकले त्रिभुवन विमानस्थल पुगेर स्वागत गरेका थिए ।
ज्ञानेन्द्र शाहलाई विमानस्थल हुँदै निर्मल निवाससम्मै समर्थक पुगेका थिए । त्यही हौसलाले राजा समर्थकले पुनः काठमाडौं केन्द्रित आन्दोलन गरेका हुन् । केही प्रहरी अधिकारीका अनुुसार फागुन २५ गते नै राजा समर्थकले प्रदर्शन भड्काउ बनाउन खोजेका थिए । तर, त्यतिबेला सुरक्षा निकायको सुझबुझपूर्ण निर्णयका कारण प्रदर्शन भड्किनबाट जोगिएको थियो ।
शुक्रबार समेत राजावादीको प्रदर्शन अराजक हुने अनुमान सुरक्षा निकायले पहिला नै गरेको थियो । जसकारण प्रहरी प्रधान कार्यालयले उपत्यकामा खटिने प्रहरीको संख्याभन्दा दोब्बर मात्रामा प्रहरी परिचालन गरेको थियो । उतिकै मात्रामा समेत सशस्त्र प्रहरी खटिएका थिए । तर, सुरक्षा निकायले विश्लेषण गरेकोभन्दा राजावादीको प्रदर्शन झनै अराजक बन्यो ।
केही सुरक्षा अधिकारीका अनुसार सुरक्षा निकायको कमजोरीका कारण राजावादीको प्रदर्शन नियन्त्रणबाहिर पुगेको बताउँछन् । एक प्रहरी अधिकारीले भने, ‘‘यो पूर्वघोषित कार्यक्रम नै हो । तर, त्यहीअनुसार सुरक्षा व्यवस्था कमजोर हुँदा प्रदर्शनकारी अराजक बन्न पुगे ।’’
राजावादीको प्रदर्शन बिहान ११ बजेदेखि विभिन्न ठाउँबाट सुरु गरिएको थियो । करिब साढे ११ बजेदेखि भने तीनकुनेमा प्रदर्शनकारी जम्मा हुन थालेका थिए । त्यहीबेला कोटेश्वरतर्फबाट आएको एक समूहले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडफोड गर्दा अवस्था बिग्रिँदै गएको थियो ।
सो अवस्था केही बेरमै नियन्त्रणमा त आयो । तर, त्यसपछि आफ्नै निजी गाडीबाट आएको प्रदर्शनका कमाण्डर प्रसाईंले प्रहरीको ब्यारियर नै तोडेर निषेधित क्षेत्र तोड्न सफल भए । त्यसपछि भने प्रदर्शन झन् अराजक बन्दै गएको हो । निषेधित क्षेत्रमा खटिएका प्रहरीले प्रसाईंलाई त्यहीबेला समेत नियन्त्रणमा लिन सक्थे तर, उनलाई नियन्त्रणमा लिएर पनि छाडियो ।
त्यहीकारण प्रदर्शन झन् अराजक बन्न पुगेको प्रहरीकै भनाइ छ । फिल्डमा खटिएका केही प्रहरी अधिकारीका अनुसार ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन हुँदा समेत आवश्यक समन्वयको अभावमा प्रदर्शनकारीको अघि मूकदर्शक बन्न पुगेका हुन् ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खटिएको सुरक्षाकर्मीको सहयोगका लागि अर्को टोली समेत जान सकेको थिएन । सुरुमा खटिएका एक प्रहरी निरीक्षकको कमाण्ड टोली नै जोखिममा परेर मदतका लागि सेटबाट नै अपिल गरेका थिए । त्यसपछि भने कुनै पनि सुरक्षा निकायको टोली अघि बढ्न सकेन । प्रदर्शनकारीले निजी घरहरूमा समेत आगजनी गर्न पुगेका हुन् ।
प्रहरी र सशस्त्र प्रहरी बललाई प्रदर्शन अराजक बन्ने आकलनसहितको सूचना दिँदा पनि विश्लेषणमा कमजोरी गर्दा पूरै सुरक्षा संयन्त्र चुकेको एक गुप्तचर विभागका अधिकारीले बताए । आगलागीको घरमा फसेका पत्रकारले गुहार माग्दा प्रदर्शनकारीले रोकेको दमकललाई समेत सुरक्षा निकायले समयमै पुर्याउन सकेन । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक डीआईजी हेमन्त मल्लले समेत सुरक्षा निकाय विश्लेषणमा चुकेको बताए ।