
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार (चैत १५) सभामुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्तापक्षीय दलका प्रमुख सचेतकहरूबीचको छलफलमा यस्तो सहमति जुटेको हो ।
गएको सोमबार मन्त्रिपरिषद्को बैठकबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको थियो । घिसिङलाई पदबाट बर्खास्त गरिएसँगै प्रतिपक्षी सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका थिए ।
उनीहरूले यस विषयमा प्रधानमन्त्री ओलीले चित्तबुझ्दो जवाफ दिएपछि मात्र सदनको अवरोध हटाउने बताएका छन् । सत्तापक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारका तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो । तर, प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
शुक्रबारको बैठकपछि सञ्चारकर्मीसँग नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने बताए । आइतबार बस्ने संसद् बैठक सहज रूपमा अघि बढाउने सहमति भएको उनले जानकारी दिए ।
उनले प्रधानमन्त्री ओलीले जवाफ दिने सहमति गर्दा समेत शुक्रबारको बैठक बस्न प्रतिपक्ष दलहरूले आनाकानी गरेको बताए ।
सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू चैत १७ गते रातिसम्म प्रक्रिया पूरा गरेर अघि बढाउनुपर्ने भए पनि प्रतिपक्षको अवरोधका कारण अहिलेसम्म अड्किएको उनले उल्लेख गरे ।
महेश बर्तौलाको भनाइ पढ्नोस्–
प्रमुख प्रतिपक्षले संसद्मा लगातार नेपाल सरकारले गरेको एउटा निर्णय, विद्युत् प्राधिकरणको एमडीका बारेमा गरेको निर्णयसँग सम्बन्धित गरेर तीन दिनदेखि हाउस अवरुद्ध गरिरहेको अवस्था छ । हामीले यो हाउस खुलाउन लगातार प्रयत्न पनि गरिरहेका छौँ । हाउस खुलाउन १३ गतेदेखि नै लागिरहेका छौँ । उहाँहरूले प्रधानमन्त्रीको जवाफ माग्नुभयो । विभागीय मन्त्रीले जवाफ दिनुहुन्छ भनेर आग्रह गर्यौँ । मान्नु भएन । उपप्रधानमन्त्रीको तहबाट यो विषय राख्नुहुनेछ भन्यौँ । मान्नु भएन । आजसम्म हाउस अवरुद्ध भयो । आज पनि विभिन्न छलफल गर्यौँ । आज हामीले एउटा निर्णय गरेका छौँ । सम्माननीय प्रधानमन्त्रीज्यूले, मेजर अपोजिसनले माग गर्नुभयो । एउटा विषय त्यो पनि रह्यो । सँगै अन्य कतिपय विषयहरूमा पनि सम्बोधन गर्नुपर्ने आवश्यकता छ । प्रमुख प्रतिपक्षले उठाएका विषयवस्तुलाई पनि ख्याल पुर्याएर सम्माननीय प्रधानमन्त्रीज्यूले आगामी १८ गतेको बैठकमा, संसद्को आगामी १८ गतेको बैठकमा सम्बोधन गर्ने भन्ने भएको छ । यो विषय राख्यौँ, सत्तापक्षको तर्फबाट । प्रधानमन्त्रीले बोल्ने विषय १८ गते बोल्नुहुन्छ । आजबाट हाउस अघि बढाऔँ भनेर प्रमुख प्रतिपक्षलाई आग्रह गर्यौँ । राष्ट्रियसभामा रहेका पाँचवटा प्रतिस्थापन विधेयक १७ गते बेलुकासम्म निष्कर्षमा पुर्याउनुपर्नेछ । यी सबै कुरा आग्रह गर्यौँ । उहाँहरूको मागबमोजिम अघि बढ्नेभन्दा पनि आजको हाउस चलाउने र सहज ढंगले अघि बढ्ने कुरामा सकारात्मक परिस्थिति भएन । आइतबारबाट बैठक सहज रूपमा सञ्चालन हुनेछ । न्युज एजेन्सी नेपाल