site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित यी प्रदेशमा आइतबार पनि बादल, वर्षा, बिजुली !
फाइल तस्बिर ।

काठमाडौं । देशका धेरै स्थानमा शुक्रबार (चैत ८) र शनिबार (चैत ९) वर्षा भएको छ । हिमाली तथा उच्च पहाडी भूभाग कतैकतै हिमपात पनि भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार (चैत १०) पनि देशका केही भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । कोसी र वाग्मती प्रदेशमा वर्षाको सम्भावना बढी रहेको उनले बताए ।

“आइतबार दिउँसो कोसी र वाग्मती प्रदेशका केही र गण्डकी र मधेस प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने ।

उनका अनुसार, शनिबार राति पनि वर्षा हुनेछ । आइतबार बिहान मौसम खुल्ने र दिउँसो पुनः बदली (आकाशमा बादल)/वर्षा हुने उनले बताए । हाल प्रिमनसुन अवधि हो । यो अवधिमा बिहानको समयमा घाम लाग्ने र अपराह्नमा पानी पर्ने सम्भावना हुने उनले स्पष्ट पारे ।

“बिहान घाम लाग्ने, मौसम खुल्ने, दिउँसो १/२ बजेपछि बादल बढ्दै जाने र मेघगर्जन (बिजुली चम्किनु)/चट्याङसहित वर्षा हुने, असिनापानी पर्ने, हावाहुरी चल्ने हुन्छ,” उनले भने । विशेष गरी कोसी र वाग्मती प्रदेशमा आइतबार यस्तै मौसम हुने उनले बताए ।

प्रिमनसुन अवधिमा दिउँसोको समयमा स्थानीय वायु सक्रिय भएर कतैकतै पानी पर्ने सम्भावना रहने उनले जानकारी दिए ।

आइतबार काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना छ । दिउँसोको समयमा करिब शनिबारकै जस्तो मौसम हुने उनले बताए ।

“काठमाडौंमा पनि वर्षाको सम्भावना छ । बिहानपख घाम लाग्ने देखिन्छ, दिउँसो पानी पर्ने सम्भावना छ । सबै ठाउँमा होइन, कतैकतै,” उनले भने, “काठमाडौंमा आइतबार आज (शनिबार)को जस्तै हुने सम्भावना छ ।”

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशमा वर्षा भएको हो । बादल/वर्षा/हिमपातसँगै देशभरकै तापक्रम थोरै घटेको महाशाखाले जनाएको छ ।

आइतबारै बेलुकाबाट यो प्रणाली कमजोर हुँदै जानेछ । कोसी प्रदेशका पहाडी भूभागमा भने यसको प्रभाव सोमबार (चैत ११) दिउँसोसम्म रहने महाशाखाको पूर्वानुमान छ । “भोलि (आइतबार) बेलुकाबाट प्रणाली कमजोर हुँदै जानेछ,” उनले भने, “यसबाहेक तत्काल तीन दिनलाई अर्को प्रणाली छैन ।”

प्रिमनसुनमा स्थानीय वायु सक्रिय हुँदा अपराह्नको समयमा पानी पर्ने सम्भावनालाई नकार्न भने नसकिने उनले बताए ।

झापामा सबैभन्दा बढी वर्षा
पछिल्लो २४ घण्टा (शनिबार बेलुका ७ बजेसम्म)मा झापामा सबैभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । यो अवधिमा झापाको चन्द्रगढीमा ४६.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै, चितवनको शक्तिखोरमा ३५.८, धनकुटाको त्रिवेणीमा ३०.४, दैलेखमा ३०.२ मिलिमिटर वर्षा भएको छ । पूर्व र मध्य क्षेत्रका धेरै स्थानमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा वर्षा भएको विभागले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंका धाम ड्याम क्षेत्र, सुन्दरीजल, साँखु, कीर्तिपुरलगायत स्थानमा वर्षा भएको मौसमविद् पुडासैनीले जानकारी दिए ।

fdsmg-1742650672.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro