site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कालीबाबा भेटेपछि नवराज सुवेदीले गठन गरे राजतन्त्र फर्काउने जनआन्दोलन समिति

काठमाडौं । राजावादीहरूले राजतन्त्र फर्काउने भन्दै ८६ वर्षीय नेता नवराज सुवेदीको नेतृत्वमा जनआन्दोलन निर्देशक समिति गठन गरेका छन् । पूर्वपञ्चहरूको बहुमत रहेको समितिमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य–सचिव बनेका छन् ।

राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापा निर्देशक समितिको नामावलीमा हिन्दु अभियन्ता अस्मिता भण्डारीपछि तेस्रो नम्बरमा छन् । राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीभन्दा दुर्गा प्रसाईंको नाम माथिल्लो वरीयतामा राखिएको छ । पूर्वसञ्चारकर्मी रमा सिंह पनि निर्देशक समितिमा बसेकी छन् ।

Argakhachi Cement Island Ad

कालीबाबा भेटेपछि जनआन्दोलन निर्देशक समिति राप्रपाबाट राजीनामा दिएर राजा ल्याउने आन्दोलनको नेतृत्व गर्ने भन्दै निर्देशक समिति गठन गरेका सुवेदीले गत शनिबार बिहान भारतबाट आएका ‘कालीदास बाबा’सँग भेटवार्ता गरेका थिए । शुक्रबार नेपाल आएर आइतबार फर्किएका कालीबाबासँग अन्य दलका नेताहरूले पनि भेटवार्ता गरेका थिए ।

पत्रकार सम्मेलनमा कुन कुन नेताले भेट गरे भन्ने प्रश्नमा कालीबाबाले धेरैजना भेटेकाले आफूले सबैको नाम बताउन नसक्ने जवाफ दिएका थिए । त्यसरी भेट्ने मध्ये विशेष समय मागेर छुट्टै भेट्नेमा सुवेदी दिए । शनिबार बिहान ६ः३० मा कालीबाबा बसेको तिलगंगास्थित होटेल आनन्दमा भेटवार्ता गरेका सुवेदीले एक्लाएक्लै भेटको सर्त राखेका थिए । उनको भेटका लागि कालीबाबासँग सरकारी सञ्चारमाध्यामका एक पत्रकारले सहजीकरण गरिदिएका थिए । ती पत्रकारले भेटका लागि आफूले सहजीकरण गरिदिए पनि भेटवार्ताका विषयमा भने कुनै जानकारी नभएको बताए ।

“कालीबाबाको निर्देशनमा जनआन्दोलन निर्देशक समिति गठन भएको हो वा समिति बनाउने विषय कालीबाबालाई जानकारी मात्र गराइएको भन्ने विषयमा म जानकार छैन,” ती पत्रकारले बाह्रखरीसँग भने, “उहाँ (सुवेदी)ले भेट्न खोज्नुभएको थियो । समय माग्दा कालीबाबाले पनि भेट्न खोजेको पाए ।”

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्