site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रेरणादायी बायोग्राफी

अभाव र अवरोधका बीच फुटबलर बन्ने सपना बोकेर संघर्ष गर्ने एक युवतीको कथा हो, ‘अञ्जिला’ । फुटबल खेल्ने उत्कट चाहना छ, तर विद्यालय तहको शिक्षा अध्ययनका लागि पनि पैसा छैन ।

आमा र बुवाको बेमेलले परिवार चलाउनै संकट छ । जीविका चलाउनमात्र होइन, ज्यान जोगाउनै कठिन भएपछि आमाले घर बदल्छिन् । कानुनी रूपमा नभए पनि श्रीमान्सँगको नाता तोड्छिन् । नयाँ घर बसाल्छिन् । छोरोछोरीको नाता पनि नयाँ बुवासँग जोडिन्छ ।

अञ्जिला लुकीलुकी फुटबल खेल्छिन् । तर, यो कुरा बुवालाई सह्य हुँदैन । फुटबल खेले नपढाउने बुवाको सर्तपछि अञ्जिलाले एकदिन साँझको अँध्यारोमा जर्सी र बुट आगोमा जलाइदिन्छिन् । साँझको अँध्यारोजस्तै उनको सपनामा पनि अन्धकार छाउँछ । उनी जबरजस्ती आफूभित्रको फुटबल मोहलाई थुन्ने कोसिस गर्छिन् ।

तर, फुटबलप्रति अञ्जिलाको मोहलाई उनकी आमाले नजिकबाट नियालिरहेकी हुन्छिन् । एकदिन आमाले अञ्जिलालाई उनको सपना साकार बनाउन काठमाडौं पठाउँछिन् । आफूसँग सल्लाह नगरी छोरीलाई फुटबल खेलाउन काठमाडौं पठाएपछि गाउँमा आमा श्रीमान्को तारो बन्छिन् । अर्कातिर सहरमा अञ्जिलाका दुःखका दिन सुरु हुन्छन् ।

आफन्तको घरमा काममा दलिनुपर्दाको एउटा पीडा, फुटबल खेल्ने उनको योजनामा भाँजो हाल्नेहरूको टोकसो सेकेन्डसेकेन्डमा सुन्नुपर्दाको अर्को दुःख । पाइलापाइलामा दुःख झेल्दै सिनेमाको कथा अगाडि बढ्छ । यही नै ‘अञ्जिला’को कथा हो ।

चलचित्रले सुरुमा हँसाउँछ । डार्क कमेडी गरिरहने दयाहाङको चरित्रले हँसाउँछ । यसले दर्शकलाई होल्ड गराउँछ । 

त्यसपछि क्यारेक्टर स्ट्याबलिस गर्न निर्देशक मिलन चाम्सले श्रीमान्श्रीमतीको सम्बन्ध देखाउँछन्, जसमा निकै लामो समय खर्चिन्छन् । अञ्जिला सानै र घटनाक्रम थाहा नपाउने उमेर भएकाले यसलाई छोट्ट्याएको भए सिनेमा थप चुस्त हुन्थ्यो । तर, चलचित्रले चाँडै गति समात्छ ।

फुटबलर बन्न कति संघर्ष गर्नुपर्छ, परिवार र समाजले खेलाडीलाई कसरी हेर्छ, घरबाटै कसरी अवरोध हुन्छ, यसका बाबजुद अञ्जिलाले गर्ने संघर्ष र प्राप्त गर्ने सफलताले ठाउँठाउँमा ‘इमोसनल’ बनाउँछ । मन भारीभारी बनाउँछ । गाउँबाट सहर आएर संघर्ष गरिरहेका आमनेपालीलाई गाउँले परिवेश र जीवनशैलीले विगत झकझक्याउँछ । आफ्नै जिन्दगी हेरेजस्तो लाग्दा भावुक बनाउँछ । यो लेखक र निर्देशकको सफलता हो ।

तर, एउटै कुरा र दृश्य पटकपटक फ्ल्यासब्याकका रूपमा देखाउँदा त्यसले चलचित्रको रफ्तारलाई रोक्छ ।सहजै बुझ्नसक्ने विषय र दृश्यमा पटकपटक फ्ल्यासब्याक देखाउनु सिनेमा ग्रहण गर्नसक्ने दर्शकको अवहेलना हो ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, माओत्से गुुरुङ, सिर्जना सुब्बाको अभिनय उम्दा छ । मुख्य पात्र ‘अञ्जिला’को भूमिकामा फुटबलर अञ्जिला तुम्बापो सुब्बाआफैँले अभिनय गरेकी छन् । उनी व्यावसायिक कलाकार नभएकाले अभिनयमा केही ‘डल’ देखिन्छ । तर, ‘कन्सिसटेन्सी’ छ, जसले दर्शकलाई भड्काउँदैन । उनको अनुहार, बोली र व्यवहारमा देखिने अबोधपनले कन्भिन्स गराउँछ ।

निर्देशकले स्वयं अञ्जिलालाई अभिनयमा उतार्दाको फाइदा पर्दामा प्रस्ट देखिएको छ । अञ्जिलाले फुटबल मैदानमा अभ्यास र खेलमा जुन कुशलता देखाउँदा चलचित्र ‘कन्भिन्सिङ’ बनेको छ, व्यावसायिक कलाकार लिएर काम गरेको भए यो सम्भव थिएन । कमजोर खेल कला र अभ्यासका कारण चलचित्रनै फितलो हुने निश्चित थियो । अञ्जिलालाई नै अभिनय गराउने निर्देशकको यो चलाखीले काम गरेको छ ।

रात र साँझका केही दृश्य उत्कृष्ट छन् । कथा र मर्मअनुसारका दृश्य सिनेमेटोग्राफरले खिचेका छन् । तर, समग्रमा उत्कृष्ट सिनेमेटोग्राफी छैन । संघर्षको कथा भएकाले डार्क कलर दिन खोजेको देखिन्छ । यसमा निर्देशक केही हदसम्म सफल भएका छन् ।

चलचित्रमा मध्यम ब्याकग्राउन्ड स्कोर छ । कान बिझाउने स्कोर छैन । साउन्डमा धेरै काम गर्न सकिने ठाउँ छोडिएको छ ।

चलचित्रमा सांगीतिक पक्ष बलियो छ । कथा भन्न आएको गीत मर्मस्पर्शी छ । छोटो गीतले धेरै कथा भनेको छ । सांगीतिक पक्ष बलियो हुँदा त्यसको प्रभाव कति पर्छ, ‘अञ्जिला’ यसको उदाहरण हो ।

‘प्रोडक्सन भ्यालु’मा निर्देशकले खासै धेरै ध्यान दिएका छैनन् । प्रोडक्सन भ्यालुमा थप काम गर्न सकिने ठाउँ प्रशस्त छन्, जसमा निर्देशकले धेरै ठाउँमा आँखा चिम्लिएका छन् । क्राउडसहितका केही ‘म्याच’ थपिएका भए सिनेमा थप उत्कृष्ट हुने निश्चित थियो ।

केही घटनाक्रम र पेसा बिनाकारण निर्देशकले बीचमै छोड्दिन्छन् । दयाहाङ गाडी साहु हुन् । तर, उनी पछि विद्यालयमा बच्चाको पाँचसात सय परीक्षा शुल्क तिर्न सक्दैनन् । उनको गाडी के भयो ? निर्देशकले देखाउँदैनन् । सिर्जनाको भट्टीपसल थियो, दोस्रो विवाहपछि किन उनले बन्द गरिन् ? निर्देशकले प्रस्ट पार्दैनन् ।

अञ्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडी हुँदासम्मको यात्रा र संघर्ष निर्देशकले देखाएका छन् । तर, यही उमेरखण्डको उनको पढाइ के भयो, काठमाडौं छिरेपछि उनले पढिन् कि पढिनन् – निर्देशक यो पाटोमा धेरै प्रवेशगरेका छैनन् । जति देखाएका छन्, त्यो कन्भिन्सिङ छैन । यसमा थप ध्यान दिएको भए सिनेमा अझ प्रभावकारी हुनेथियो । किनभने, यो अञ्जिलाको बायोपिक हो । ९० प्रतिशत बायोपिक भएको निर्देशक स्वयंले बताइरहेका बेला जीवनको एउटा पाटो नै पूरै नजरदाज नगरे पनि आवश्यक स्थान नदिँदा केही अपूर्ण लाग्छ ।

यद्यपि, नेपालमा निर्मित बायोपिकमध्ये यो अहिलेसम्मकै निःसन्देह एक उत्कृष्ट हो । अञ्जिला र फुटबल खेलाडी र खेलप्रेमीका लागि यो डिजिटल दस्ताबेज हो । मिलनले यसअघि बनाएको सृष्टि केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’भन्दा ‘अञ्जिला’ धेरै राम्रो छ ।

पत्थरको कापबाट उम्रिएर हुर्कन पिपलको बिरुवाले झैँ संघर्षपूर्ण जीवन जिएकी अञ्जिलाको जीवन भोगाइ आफैँमा प्रेरणादायी छ । घरपरिवार र अभिभावकले आफ्नो सन्तानको इच्छा नबुझ्दा सफलता प्राप्त गर्न कति संघर्ष गर्नुपर्छ भन्ने सन्देश बोकेको सिनेमा समग्रमा हेर्नलायक छ ।

० ० ०

निर्देशक : मिलन चाम्स 
कलाकार : अञ्जिला तुम्बापो सुब्बा, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल आदि । 
निर्माता : प्रेमकुमार श्रेष्ठ 
लेखक : प्रदीप भारध्वज, यम थापा र गिरिराज घिमिरे । 
जानरा : बायोग्राफी÷ड्रामा 
भाषा : नेपाली 
रनटाइम : १४७ मिनेट 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro