site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा पीएचडी गर्दै थिए, नेपाल आउँदा क्रिप्टोमा समातिए

पोखरा । ३१ वर्षका रुपेन्द्र जीसी विगत १० वर्षदेखि अमेरिकामा आईटी इन्जिनियर काम गर्दै आएका थिए । उनले आईटीमै पीएचडी पनि गर्दै छन् । उनको नेपाल आउने–जाने क्रम पनि चलिरहन्थ्यो । यसै सिलसिलामा पछिल्लोपटक एक महिनाअघि मात्रै छुट्टीमा नेपाल आएका रुपेन्द्र अहिले कास्की प्रहरीको हिरासतमा पुगेका छन् ।

कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर रुपेन्द्रसहित पाँचजनालाई क्रिप्टो कारोबार, अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जानकारी दिएको छ । 

गत २३ गते करिब साँझ पाँच बजेको समयमा पोखरा १४ चाउथे अनुपम टोलबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो । रुपेन्द्रको घरमा शंकास्पद कार्य भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाकै नेतृत्वको टोलीले सूक्ष्म अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो ।

पर्वत जलजला गाउँपालिका ३ का जीसी चाउथे बस्दै आएका थिए । यस्तै प्रहरीले म्याग्दी घर भई चिप्लेढुंगामा फेन्सी पसल गर्दै आइरहेका रुपेन्द्रका फुपूका छोरा ३३ वर्षे विक्रम बानियाँ, स्नातक पढ्दै गरेका रुपेन्द्रका सानीआमाका छोरा रघुगंगा २ घर भई चाउथेमा नै बस्दै आएका रोजन केसी, फुपूकै छोरा स्नातक चौथो वर्षमा अध्ययनरत २२ वर्षका सज्जन घिमिरे र बहिनी ज्वाइँ फुटस्टेप कन्सल्टेन्सीका सञ्चालक २८ वर्षे सन्दीप कटुवाललाई पनि पक्राउ गरेको हो ।

उनीहरु सबै आफन्त हुन् । लामो समयदेखि अवैध काममा रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट मोबाइल ३१ थान, कम्प्युटर मनिटर दुई, सीपीयू ३, ल्यापटप ४, आइप्याड २, किबोर्ड २, माउस १, राउटर ४, पेनड्राइभ ३, हार्डडिक्स १, मल्टिप्लक १, चार्जर ११, यूएसबी पोर्टसहितको स्ट्यान्ड १, स्ट्याम्प छाप १ र नगद ७२ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ ।

तर यसको अनुसन्धान भने कास्कीमा सम्भव छैन । डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने हुन्छ । 

“यो निकै भाष्ट छ, प्रविधिको प्रयोग यसमा छ, यतिधेरै डिभाइस छन्, यसलाई डिजिटल फरेसन्सक ल्याब लगेर परीक्षण गर्नुपर्ने आवश्यकता छ, यसबाट दुर्इ दिनमै सबै कुरा निकाल्न सक्दैनौँ, हामीसँग अनुसन्धान गर्ने अवधि छ, त्यो समयसम्म हामीले भरपुर के निकाल्न सकिन्छ त्यो निकाल्ने प्रयास गर्छौं,” कास्की प्रहरी प्रमुख एसपी ओलियाले भने । 

मुद्दाको प्रारम्भिक अनुसन्धानमै रुपेन्द्र अमेरिका हुँदादेखि नै यो अवैध काम गर्दै आइरहेको खुलेको प्रहरीको भनाइ छ । उनले पोखरामा विक्रम र सन्दीपको सहयोगमा काम गर्दै आइरहेका थिए । विक्रम र सन्दीपले म्यानेजिङ लेभलको काम गरेका छन् । यी दुईले यहाँ क्रिप्टोकरेन्सीमा सम्बद्ध हुने अनलाइनमा हुने सबै हिसाबकिताब राख्दै आएका थिए ।

रोजन र सज्जन रुपेन्द्रकै घरमा बसेर २४सै घण्टा सिफ्ट बनाएर अनलाइनमा काम गर्दै आइरहेका थिए । ग्राहकले कति राखे र कति राख्ने सबै उनीहरूले हेर्दै र अपडेट गराउँदै आएको एसपी ओलियाले सुनाए । 

उनीहरूको दुई गेमिङ प्ल्याटफर्म रहेको समेत भेटिएको थियो । उनीहरूले १० डलर हालेमा ११ डलर अपलोड गरिदिने, २० डलर ग्राहकले हालेमा २२ डलर हालिदिने गर्दै आइरहेका थिए । 

“आफ्नै घर–परिवारका सदस्य भयो भने बाहिर कसैले थाहा पाउँदैन र सुरक्षित भइन्छ भन्ने तरिकाले यो गरेको देखिन्छ । शंकास्पद गतिविधि भएको सूचना पहिला नै आएको थियो, त्यही सूचनाका आधारमा हामीले खानतलासी गर्दा पक्राउ गरेका हौँ,” ओलियाले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro