
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)को मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल दोषी ठहर भएका छन् । विशेष अदालतले खरिद प्रक्रियाका अयोग्य कम्पनीलाई छनोट गरेको तथा दुई करोड ४२ लाख अमेरिकी डलर लगत बढाएको ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले २३ करोड २० लाख ५९ हजार ३१४ भ्रष्टाचार भएको ठहर गरेको हो । विशेषले अध्यक्षद्वय झा र खनाललाई एक वर्ष एक महिना कैदसहित जरिवाना सुनाएको छ ।
विशेषले भुक्तानी भएको रकमबाट दामासाहीले हुने पाँच करोड ८० लाख १४ हजार ८२८ जनही बिगो कायम गरी उनीहरूबाट त्यति नै जरिवाना असुल्न फैसला गरेको छ ।
अध्यक्षद्वयसँगै न्युमेरा एसडीएन बीएचडी मलेसिया, नमस्ते ग्लोबल कम पीटीई एलटीडी सिंगापुर र ओएसलाई डिजिटल प्रालि इन्डियाको जोइन्ट भेन्चर भएर सम्झौतामा हस्ताक्षर गरेका न्युमेराका मोहनुर अमिन विन मोहद नुर खानलाई पनि एक वर्ष कैद सजाय भएको छ । जोइन्ट भेन्चरमा काम गरेका सबै कम्पनीहरू न्युमेरा एसडीएन बीएचडी मलेसिया, नमस्ते ग्लोबल कम पीटीई लिमिटेड, सिंगापुर र ओएसलाई डिजिटल प्रालि इन्डियालाई पनि समान पाँच करोड ८० लाख १४ हजार ८२८ असुल गरेर त्यति नै जरिवाना गराउन फैसला भएको छ ।
फैसला अनुसार, सबै प्रतिवादीबाट बिगो र जरिवानासहित कुल रकम ६९ करोड ६१ लाख ७७ हजार ९३६ रुपैयाँ असुल गर्नुपर्नेछ ।
एमडीएमएस भ्रष्टाचारमा प्रतिवादी बनाइएकामध्ये आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतीक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइराला छन् ।