काठमाडौं । डा. भगवान कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेल्थ टिप्स दिएका छन् । कोइरालाले ओलीलाई राति राम्रोसँग सुत्न र उज्यालोमा पढ्न सुझाव दिएका छन् ।
गणेश पाण्डेको पुस्तक ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ विमोचनमा डा. कोइरालाले निद्रा पुगेमात्र स्वास्थ्य राम्रो हुने बताए । उज्यालो समय नै दिनमा १८ घण्टा भएकाले उज्यालोमा पढ्ने बानी गर्नु राम्रो हुने उनको भनाइ छ ।
ओलीमा ‘पावर अफ पोजेटिभिटी’ भएको बताए । उनले ओलीको मुटु बलियो भएको पनि सुनाए । बौद्धिक र भौतिक परिश्रम गरे धरै फाइदा हुने डा. कोइरालाले बताए ।
पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्या भण्डारी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण गरिन् ।
ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको छ ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ ।