काठमाडौं । वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाहीँ अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौंमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै महीमा पनि रह्यो ।
अन्य पेय पदार्थको साटो मही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक ब्यांक्वेटमा बेहुला माधव भण्डारी र बेहुली अश्मी सापकोटा जग्गेमा व्यस्त भइरहँदा उनीहरूलाई शुभकामना र आशीर्वाद दिनेको भीड पेय पदार्थका रूपमा राखिएको महीतिर लहसिएको थियो ।
अन्य पेय पदार्थको साटो मही पिउन पाउँदा फरकपन महसुस गरेको बिहेमा सहभागी आगन्तुकले बताएका थिए । अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा महीको प्रयोग निकै राम्रो भएको बताए ।
विवाहमा महीप्रति मानिसहरूको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताए । बिहेमा सहभागी शिक्षक उदय चापागाईंले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मही नै राख्ने रहर जागेको बताए ।
बिहेका आगन्तुक एवं सञ्चारकर्मी डा. राजेन्द्रराज तिमिल्सनाले पनि महीको महत्त्वबारे चर्चा गरे । उनले पौराणिक प्रसंग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गरे ।
कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहेका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मही समावेश गरेको बताए । बिहेमा महीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उनले विशेष खुसी व्यक्त गरे ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अश्मी सापकोटाले मही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गरेका थिए । नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताए ।
काठमाडौंमा हुने कार्यक्रमका लागि मही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताए ।
चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिंक्सको करिब ३५ प्रतिशत हिस्सा महीले लिइसकेको मही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन् ।
नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ ।रासस