काठमाडौं । अभिनेता विल्सनविक्रम राई चलचित्र ‘माग्ने राजा’मा अनुबन्ध भएका छन् । केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’मा विल्सन पनि जोडिएका हुन् ।
चलचित्र ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी करिब दश वर्षपछि सँगै काम गर्न लागेका हुन् ।
एक दशकअघि उनीहरू ‘राम कहानी’मा सँगै काम गरेका थिए ।
विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिनुका साथै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गरिदिएका थिए ।
ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्रमा यसअघि नै वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगायत कलाकार तय भइसकेका छन् ।
आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्य राज तिमल्सेनाको पटकथा रहेको छ । चलचित्रको छायांकन यही शिवरात्रीका दिनदेखि सुरु हुँदै छ ।