site stats
बाह्रखरी :: Baahrakhari
देश
ग्यास पसलबाट सुरु भएको थियो हलेसीमा आगलागी

काठमाडौं । खोटाङको हलेसी बजारमा आइतबार साँझ ७ बजेतिर आगलागी भयो । हलेसी दुवाचुङ नगरपालिका–७, हलेसीबजारमा आगलागी हुँदा स्थानीय पदम राईको घर जलेर पूर्ण रूपमा क्षति भयो ।

हार्डवेयरसँगै ग्यास पसल राखेका पदमको घरबाट  सुरु भएकाे आगो ले अन्य घरमा समेत क्षति गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।

Argakhachi Cement Island Ad

"हलेसी बजारस्थित पदम राईको हार्डवेयरसँगै ग्यास पसल भएको घरबाट आगलागी सुरु भएको हो," प्रहरी निरीक्षक राईले भने, "खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको थियो । प्रहरी र स्थानीय मिलेर आगो निभाएका हौँ ।"

आगलागी नियन्त्रणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय जुटेका थिए । आगाे बेलुका करिब साढे १० बजे नियन्त्रणमा आएकाे प्रहरी निरीक्षक राईले जानकारी दिए ।

आगलागीबाट दुईवटा घरमा पूर्णरूपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको छ । पानी अभाव भएका कारण आगो निभाउन ढिलाइ भएको उनको भनाइ थियो । आगलागीबाट स्थानीय ऐराख राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।

आगलागी हुँदा घरभित्रबाट निकाल्न नसकेको एक/दुईवटा ग्यास विस्फोट भएको आवाज आएको प्रहरी निरीक्षक गिरीले बाह्रखरीलाई जानकारी दिए । "करिब २०० ग्यास बाहिर निकालेर सुरक्षित स्थानमा लगेका छौँ, बाँकी रहेका एक/दुईवटा ग्यास विस्फोट भएको जस्तो आवाज आएको छ," उनले भने ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २३:०१
प्रतिक्रिया दिनुहोस्