-1739104333.jpg)
काठमाडौं । गएको माघयता काठमाडौं उपत्यकाको वायु अधिकांश दिनहरूमा अस्वस्थकर नै छ । वातावरण विभागका अनुसार, आइतबार बिहानदेखि साँझ ६ बजेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ १५० भन्दामाथि रह्यो ।
साँझ ६ बजे ललितपुरको भैँसेपाटीको एक्यूआई उपत्यकाकै सबैभन्दा धेरै १६४ थियो । पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा भने सबैभन्दा धेरै खुमलटारमा ७५.२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो । काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने विभागको पूर्वानुमान छ ।
“नेपालमा विशेषगरी मंसिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास तथा मुटुका बिरामी, गर्भवती जस्ता व्यक्तिलाई बढी प्रभाव पार्दछ । यो अवधिमा सतर्कता अपनाउन अनुरोध छ,” विभागले आह्वान गरेको छ ।
पीएम २.५ को मात्रा बढेसँगै स्वास्थ्यमा खतरा
काठमाडौं सहरभित्र बिहान ८–९ बजेदेखि दिउँसो ३ बजेसम्मको वायु धेरै प्रदूषित हुने गरेको यूएसएडको क्लिन एयर कार्यक्रमको अध्ययनले देखाएको छ । यही अवधिमा एक्यूआई र पीएम २.५ को मात्रा उच्च हुनजान्छ । यो समयमा हावा कम चल्ने भएकाले पनि हावा धेरै प्रदूषित हुने र वायु प्रदूषण उच्चविन्दुमा पुग्ने गरेको वातावरण विद्हरू बताउँछन् ।
हिउँदका दिनहरूमा हावाको वेग कमजोर हुने, वर्षा नहुने कारणले पनि वायुमा पीएम २.५ को मात्रा रहिरहने वातावरण विज्ञ रिना चौधरी बताउँछिन् । सुक्खायामा वायु प्रदूषणको कारण वन डढेलो भए पनि हिउँदमा औद्योगिक धुवाँ, सडक निर्माणको क्रममा निस्कने धुवाँधुलो र सवारी साधनबाट निस्कने खराब धुवाँ नै रहेको उनको भनाइ छ ।
डढेलोबाट निस्कने धुवाँ होस् या सवारीसाधनबाट निस्कने खराब ग्यासहरू– दुवै स्वास्थ्यका निम्ति अति घातक हुन्छन् । वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेका अनुसार, दुवै स्रोतबाट कार्बन मनोअक्साइड, नाइट्रोजन डाइअक्साइड जस्ता खराब तत्व उत्सर्जन हुने हुँदा उत्तिकै घातक हुन्छन् ।
पीएम २.५ को मात्रा अधिक रहेको वायुले स्वास्थ्यमा जोखिम निम्त्याइरहेको उनको विश्लेषण छ । पीएम २.५ उच्च रहेको वायु रगतको माध्यमबाट सिधँै संवेदनशील अंगहरूसम्म पुग्ने हुँदा अत्यन्तै घातक मानिन्छ ।
के हो एक्यूआई र पीएम २.५ को मापदण्ड ?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रंगको सूचक रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्मको (पहेँला) भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (सुन्तले) रहेको वायुले श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।
यस्तै, १५१ देखि २०० सम्मएक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र २०१ देखि ३०० सम्म (बैजनी) पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दामाथि (कलेजी) भएमा ‘खतरनाक’ बन्दै जाने डब्लूएचओको मापदण्ड छ ।
यस्तै, पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।
वातावरण विभागले २४ घण्टाका निम्ति तोकेको पीएम २.५ को औसत मापदण्ड ४० माइक्रमोग्रामप्रति घनमिटर हो । सोभन्दा बढी भए स्वास्थ्यका निम्ति घातक हुने मापदण्ड छ । पीएम २.५ बढेको अवधिमा मर्निङ वाक, घरबाहिरका व्यायाम जस्ता क्रियाकलापन गर्न डब्लूएचओले सुझाएको छ ।
काठमाडौंको हकमा बिहानी समयमा २.५ को मात्रा उच्च हुने र इन्भर्सन इफेक्टका कारण पनि मर्निङ वाक घातक हुनसक्ने डब्लूएचओ नेपालको सुझाव छ ।
के हो इन्भर्सन इफेक्ट ?
तापक्रम न्यून हुँदा जमिनसँगैको हावा फैलिएर धेरै माथि जान सक्दैन । जसले गर्दा वायुमा जति पनि हानिकारक कणहरू उत्सर्जन भएका छन्, ती सबै जमिननजिक थिग्रिएर बसिरहन्छन् ।
वातावरण निरीक्षक लामिछानेका अनुसार, तापक्रम न्यून हुँदा वायुमण्डलमा सिर्जना हुने यस्तो विशेष अवस्र्था इन्भर्सन इफेक्ट’ हो । यो अवस्थामा जमिननजिकै रहेको चिसो हावालाई तातो हावाले ढाकेर राखेको हुन्छ र उत्सर्जन भएको प्रदूषण जमिनकै वरीपरी रहिरहने अवस्था बन्छ ।
“जाडोयाममा वायुमा पीएम २.५ को मात्रा बढ्नुको अर्को प्रमुख कारण यो पनि हो,” वातावरण विभागको रिपोर्टमा उल्लेख छ ।
मास्कले जोगाउँछ त वायु प्रदूषणको असरबाट ?
नेपालमा बर्सेनि ४२ हजार एकसय नेपालीको वायु प्रदूषणसम्बन्धी रोगहरूबाट मृत्यु भइरहेको वातावरण विभागको तथ्यांक छ । वायु प्रदूषणका कारण आमनेपालीले ४.६ वर्ष र काठमाडौंबासीले ३.५ वर्ष आयु गुमाइरहेर्को एयर क्वालिटी लाइफ इन्डेक्स नेपाल फ्याक्टसीट २०२३’ मा उल्लेख छ ।
काठमाडौंको वायु प्रदूषण ३० प्रतिशत मात्रै घटाउन सके काठमाडौंबासीको आयु १.२ वर्षले बढ्ने पनि फ्याक्टसीटमा उल्लेख छ ।
घरबाहिर निस्कँदा मास्कको प्रयोग मात्रैले पनि पीएम २.५ को असरबाट धेरै हदसम्म बच्न सकिने अध्ययनहरूले देखाएका छन् । यूएसएडक्लिन एयर’का अनुसार सामान्य कपडाको मास्कले पीएम २.५ का कणहरूलाई शरीरमा प्रवेश गर्नबाट ६० प्रतिशतसम्म जोगाउँछ ।
यस्तै, सर्जिकल मास्कले ९० प्रतिशत र एन ९५ ले ९५ प्रतिशतसम्म सुरक्षा गर्ने यूएसएड क्लिन एयरले जनाएको छ ।