site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चार महिना हाम्रो पार्टीका लागि अप्रिय रहे : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संसद्को अघिल्लो अधिवेशन अन्त्यपछिका चार महिना आफ्नो दलका निम्ति अप्रिय रहेको बताएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा शुक्रबार उनले यो सुरुआतको स्वागत गर्दै सफलताको शुभकामना दिए ।

“संसद् जनताको आफ्नो घर हो, संवाद र सहमतिको आश्रय पनि हो । कानुन बनाउने र कार्यान्वयन गर्ने कार्यकारिणी मन्त्रिपरिषद्लाई उत्तरदायी बनाउने स्थान पनि हो,” वाग्लेले  भने, “राजनीतिक अनिश्चितता र अड्कलबाजीका बीच नियमित अधिवेशन सुरु हुँदा आशा सञ्चार गर्ने हाम्रो दायित्व पनि हो । घरमा ताल्चा लाएर बाहिर बरालिएको प्रायः हामी नेपाली रुचाउँदैनौँ ।”

Argakhachi Cement Island Ad

ढ्याप ढ्याप समय माग गर्दा नपाएकाले रास्वपाले १५ मिनेट बैठक बहिष्कार गरेका विषयमा उनले स्पष्टीकरण पनि दिए । त्यसलाई उनले ‘ढोका खुलेपछि पिँढीमा बस’ भनेको रूपमा अर्थ्याएका थिए ।

“जनताको ढोका त खुल्यो, तर पिँढीमा मात्र आएर बस भनेजस्तो भएकाले सुसंस्कृत राजनीति गर्ने भनेर आएका हामीले पूर्वाभ्यास ग¥यौँ । यसलाई त्यसै स्पिरिटमा लिइदिन अनुरोध गर्दछु,” उनले भने ।

उनले आफ्नो पार्टी अघिल्लो अधिवेशन अन्त्यपछिका चार महिना कठिन अवस्थाबाट गुज्रिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय रूपमा पनि नयाँ शक्ति उदय हुँदा चार चरणबाट गुज्रने गरेको उनले बताए । त्यसमा रास्वपा तेस्रो चरणमा रहेको उनको भनाइ थियो ।

“सभामुख महोदय, अघिल्लो अधिवेशन समापनपछिका चार महिना हाम्रो पार्टीका लागि अप्रिय रहेका छन्,” वाग्लले भने, “अन्तर्राष्ट्रिय रूपमा पनि नयाँ शक्तिको उदयपछि चार चरणहरू गुज्रँदा रहेछन् । पहिलो चरण बेवास्ता गरिदिने, दोस्रो चरण खिसीटिउरी गरिदिने, रिडिक्युल गर्ने, तेस्रो चरणमा एट्याक गर्ने, भीषण आक्रमण गर्दिने, अहिले हामी त्यही तेस्रो चरणबाट गुज्रिएको महसुस भइरहेको छ ।”

उनले रास्वपा चौथो चरणमा पुग्ने आत्मविश्वासमा रहेको बताए । “चौथो चरण चाँडै नै आउँदै छ । त्यो भनेको अस्तित्वको स्वीकार्यता, प्रवेश, विस्तार र दिग्विजय हो, त्यो भिक्ट्रीको चरणमा छौँ,” उनले भने, “तेस्रो चरणबाट चौथो चरणमा जानेमा हामी आत्मविश्वासका साथ अघि बढिरहेका छौँ ।”

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्