site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अदालती प्रक्रिया बुझाउँदै गर्दा ठोक–ठोक भन्दै आएको जत्थाले भुइँमा पछार्‍यो’

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध बहस गरेर अदालतबाट बाहिरिँदै गर्दा आक्रमणमा परेका छन् । सहकारी ठगीसहितका अभियोगमा लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बुधबार सहकारीपीडितका तर्फबाट थुनछेक बहस गरेर बाहिरिएका त्रिपाठी अदालतको गेटैअगाडि आक्रमणमा परेका हु्न् ।

त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा युट्युबरहरूले भित्र के भइरहेको छ र प्रक्रिया के हुन्छ भनेर सोधिएकोमा जवाफ दिँदै गर्दा आफूमाथि आक्रमण भएको जानकारी दिए ।

“भित्र के भइरहेको छ भनेर प्रश्न सोधियो । मैले अदालती प्रक्रिया बुझाउँदै थिए,” त्रिपाठीले भने, “पछाडिबाट ठोक ठोक भन्दै जत्था आयो । मलाई भुइँमा पछार्‍यो ।”

उनले त्यसपछि आफू ‘अनकनसियस’ जस्तै भएको बताए । प्रहरी नआएको भए आपराधिक जत्थाले आफ्नो ज्यान समेत लिने अवस्था रहेको उनले सुनाए ।

लामिछानेले आफू संलग्न भएको, सहकारीमा आफ्नै हस्ताक्षरबाट चेकमार्फत लोन तिरेका विषयमा समेत इन्कारी बयान दिएकाले ‘इनोसेन्ट’ भन्न मिल्ने अवस्था नरहेकाले थुनामा पठाउन माग गर्दै त्रिपाठीले बहस गरेका थिए । उनले संगठीत अपराधका अन्तर्राष्ट्रिय मान्यता र आधारहरू प्रस्तुत गर्दै लामिछाने सहकारी ठगीमा मात्र नभएर संगठित अपराधमा पनि दोषी हुन सक्ने भन्दै पछि ठहरेबमोजिम हुनेगरी पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए ।

त्यसलगत्तै इजलासबाट निस्किएर बाहिरिएका वरिष्ठ अधिवक्ता त्रिपाठी गेटनजिक आक्रमणमा परेका थिए ।

त्रिपाठीमाथिको आक्रमणमा काठमाडौं जिल्ला अदालत बार एसाेसिएसनले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग राखेको छ । उसले कानुन व्यवसायीमाथिको आक्रमण स्वतन्त्र, सक्षम र निर्भिक न्यायालयमाथिको आक्रमण भएको भन्दै त्यस्ता आक्रणकारीलाई कानुनको दायरामा ल्याउन माग गरेको छ ।

नेपाल बार एसाेसिएसनका अध्यक्ष र महासचिव दुवै उपत्यका बाहिर भएको भन्दै अध्यक्ष गोपालकृष्ण घिमिरेले फेसबुकमार्फत विरोध सार्जजनिक गरेका छन् । कामको सिलसिलामा सोलुखुम्बु रहेको भनेका उनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

“आज माघ २ गते काठमाडौं जिल्ला अदालतबाट मुद्दामा बहस पैरवी सकेर फर्केका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण भएको भन्ने खबर प्राप्त भएको छ,” अध्यक्ष घिमिरेले भनेका छन्, “आफ्नो कानुनी कर्तव्य गर्दाको अवस्थामा कानुन व्यावसायीउपर अदालत परिषरमा भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीउपर कडा कारबाहीको माग गर्दछु ।”

अधिवक्ता तुलसीराम पराजुलीले अधिवक्ताले मुद्दामा पक्षको प्रतिनिधित्व गर्ने भन्दै त्यसकै आधारमा आक्रमण हुनु निन्दनीय भनेका छन् ।

“स्मरण रहोस्ः कानुन व्यवसायीले पक्षको प्रतिनिधित्व गर्ने हो । सोहीक्रममा सहकारीपीडितको पक्षमा बहस पैरवी गरेको र रविको पक्षमा नगरेको भन्दै काठमाडौं जिल्ला अदालतमा रास्वपा समर्थकहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरेको हमला निन्दनीय छ,” अधिवक्ता पराजुलीले भनेका छन् ।

मानवअधिकार आयोगका पूर्वसदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारीले अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको आक्रमण निन्दनीय मात्र नभएर नागरिककै लागि लज्जाको विषय भएको भनेकी छन् ।

“यो अत्यन्त निन्दनीय कार्य भयो यसको जति भर्त्सना गरे पनि कम हुन्छ,” अन्सरीले भनेकी छन्, “कुन मात लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई... कानुन व्यवसायीमाथिको आक्रमण जस्तो घृणित कार्य अरु हुन सक्दैन । त्यो पनि अदालत परिसरमा !” उनले उक्त कुरा नागरिककै लागि लज्जाको विषय भएको उल्लेख गरेकी छन् ।

रवीन्द्र भट्टराई नाम रहेका व्यक्तिले सामाजिक सञ्जालमार्फत नै जो कसैले जाहेरी दिएर दोषीलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन् । “नेपाल बार/काठमाडौं बार कसले दिने हो, जाहेरी दिएर आक्रमणकर्ताहरूलाई सार्वजनिक न्यायविरुद्धको कसुरमा न्यायसमक्ष उभ्याउन शीघ्र पहल गरियोस्,” उनले भनेका छन्, “एउटा पनि वकिलमाथिको आक्रमण नेपाल बार एसोसिएसनमाथिको आक्रमण हो ।”

अधिवक्ता अमृत खरेलले रवि लामिछानेको कार्यकर्ताले कानुन हातमा लिने प्रयास गरेको भन्दै उनीहरू पुराना राजनीतिक दलका कार्यकर्ता सरह हुन पुगेको भनेर टिप्पणी गरेका छन् ।

“रवि लामिछानेका कार्यकर्ताद्वारा कानुन व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीउपर गरिएको आक्रमण न्यायको प्रक्रियालाई प्रभावित तुल्याउने जघन्य अपराध हो,” अधिवक्ता खरेलले भनेका छन्, “कानुन हातमा लिने छुट कुनै पनि राजनीतिक दललाई छैन ।”

उनले आक्रमणमा उत्रिने पार्टी पनि पुराना राजनीतिक दलहरू सरह नै निकम्मा पुष्टि भएको भन्दै दोषीमाथि कारबाही माग गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro