site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविका वकिलको दाबी : १३ वर्षअघिको बैंक खाता खोतलेर फसाउन खोजियो 

पोखरा । सहकारी संस्थाको बचत अपचलन प्रकरणमा मुछिएका रवि लामिछानेका तर्फका वकिलहरूले सोमबार जिल्ला अदालत कास्कीमा थुनछेक बहस गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रविमाथि सूर्यदर्शन सहकारी ठगी मात्रै नभएर संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाउने गरी अदालतमा अभियोगपत्र दायर गरिएको छ ।

सोही अदालती प्रक्रियामा सोमबार लामिछानेका तर्फबाट तीनजना कानुन व्यवसायीले बहस गरेका हुन् । सो क्रममा उनीहरूले गर्दै लामिछानेलाई अनधिकृत रूपमा राज्यले फसाउन खोजेको आरोप लगाएका छन् । 

लामिछानेलाई दशकअघिदेखिको बैंक खाता खोतलेर सम्पत्ति शुद्धीकरण मुद्दामा मुछ्ने काम गरिएको उनका कानुन व्यवसायीहरूले बताएका छन् । उनीहरूले भने,“रवि लामिछानेलाई जसरी गोर्खा मिडियाको प्रबन्धक भएको हिसाबले प्रतिवादी बनाइनुका साथै सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको छ, उनी गोर्खा मिडियामा आउनुअघिदेखिकै बैंक खाताको विवरण सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा उल्लेख गरेको छ ।”

Dabur Nepal
NIC Asia

न्यायधीश नीतिज राईको इलजासमा भएको बहसमा लामिछानेका तर्फबाट सोमबार पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित वरिष्ठ अधिवक्ताद्वय  सुशील पन्त र सुरेन्द्र थापाले बहस गरे । अदालती बहसमा सहभागी एक अधिवक्ताका अनुसार लामिछाने पक्षका कानुन व्यवसायीहरूले सम्पत्ति शुद्धीकरणमा लामिछोनलाई किन जोडियो भन्ने विषय प्राथमिकताका साथ उठान गरेका थिए ।

“सम्पत्ति शुद्धीकरण हुनै सक्दैन । रवि र निकिताको खातामा अस्वाभाविक रकम आएकै छैन । रवि गोर्खा मिडियामा आउनुभन्दा अगाडिदेखिकै बैंक खाता हेरिएको छ । रविको खातामा सात लाख रुपैयाँभन्दा छैन । उनको खातामा आएको देखिएको छैन,” लामिछानेका कानुन व्यवसायीले भने ।

लामिछानेलाई करिब २८ करोड रुपैयाँ स्रोत नखुलेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणमा समेत अभियोगपत्र दायर गरेको थियो । 

अदालतमा भएको बहसबारे ती अधिवक्ता भन्छन, “२८ करोड भन्ने विषय झुट हो । सरकारी पक्ष झुट बोलेको छ । सन् २०११ देखिको बैंक खाता हेरिएको छ । ०५४/५५ सालमा खरिद गरेको निजी सम्पत्तिलाई पनि जफत गरिपाऊँ भनेको छ । कुनै पनि हालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा आकर्षित हुने देखिँदैन ।”

सहकारी ठगी र संगठित अपराध मुद्दामा समेत कानुन व्यवसायीले बहस गरे । सो क्रममा उनीहरूले लामिछानेले सहकारीबाट रकम लगेको नदेखिएको बताएका छन् । ‘‘एक करोडको माग फारम जुन भनिएको थियो, गलत भन्ने आइसक्यो । हस्ताक्षर पनि नक्कली भन्ने आइसकेको छ ।” उनले भने,“उहाँ ऋणी हुनलाई संस्थालाई गरेको कबुलियतनामा हुनुपथ्र्यो, त्यो छैन । ऋण तिर्नको लागि भनेर संस्थाले ताकेता गरेको सूचना कहीँकतै छैन ।”

लामिछाने पक्षबाट बहस गर्ने कानुन व्यवसायीले लामिछानेलाई अदालतले चाहेको बेलामा आउने भनेर हिरासतमुक्त गर्नुपर्ने माग गरेका छन् ।

अर्का अधिवक्ता यज्ञमणि न्यौपानेले पनि पूरक अभियोग, थप अभियोग र मूल अभियोगको बीचको सन्दर्भ र त्यसरी ल्याउन पाइने/नपाइने विषयमा इजलासमा प्रश्न उठेको जानकारी दिए । यसको अलावा हदम्यादको बारेमा पनि कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो माग गरिएको छ । सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरिएको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।

अभियोगपत्रमा रवि लामिछानेमाथि संगठित अपराधमा कसुर गरेको पनि पुष्टि भएको उल्लेख छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा आइतबार गरेको अभियोजनमा लामिछानेले कृत्रिम व्यक्ति खडा गरेर काल्पनिक ठेगाना उल्लेख गराई एक करोड रुपैयाँ अपचलन गरेको उल्लेख छ ।

सहकारी ऐन २०७४, संगठित अपराध (निवारण) ऐन, २०७० र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरिएको हो । यो कसुरमा सजाय कम वा छुटको मागदाबीको आधार नरहेको भन्दै सजाय माग गरिएको हो ।

सहकारी ऐन २०७४ को दफा १२४ को उपदफा ’घ’ अनुसार लामिछानेलाई ८ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ । “एक अर्ब रुपैयाँभन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए पनि आठ वर्षदेखि १० वर्षसम्म कैद,” यो उपदफामा भनिएको छ ।

रविविरूद्ध अर्को कसुर संगठित अपराधको छ । अभियोगपत्रमा यो ऐनको दफा ९ को क र ग बमोजिम सजाय माग गरिएको छ । यो दफा अनुसार ऐनको दफा ३ को उपदफा ३ क र ख तथा उपदफा ४ बमोजिमको कसुर हुने उल्लेख गरिएको छ ।

संगठित अपराध गर्नेलाई पाँच वर्षसम्म कैददेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । त्यसैगरी लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको पनि कसुर आकर्षित भएको जिकिर सरकारी वकिलले गरेको छ ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ३ अनुसारको कसुर भएको भन्दै सजाय माग गरेको छ । त्यसअनुसार बिगोको दोब्बर जरिवाना र कसुरको गम्भीरता अनुसार दुई देखि १० वर्षसम्म कैद सजायको माग गरिएको हो ।

सम्भवतः बुधबारसम्ममा अदालतबाट आदेश आउनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro