site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘एम्पक्स’ समुदायमा फैलिने अवस्था आएको हो ?

काठमाडौं । आइतबार थप एक नेपालीमा मंकिपक्स संक्रमण (एम्पक्स) पुष्टि भएसँगै जनमानसमा यसको भय बढेको छ । समुदायमा संक्रमण फैलिन सक्नेबारे जनचासो छ ।

साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

नेपालमा पहिलोपटक २०८० असार १ गते एक विदेशी महिलामा एम्पक्ससँग देखिएको थियो । दोस्रो केस गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा पुष्टि भएको थियो ।

कहाँ छन् संक्रमित, अन्यमा सर्ने जोखिम कति ?
आइतबार एम्पक्स पुष्टि भएका पुरुष शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । उनी नेपाल आएलगतै परिवारसँग एक दिन बिताएका थिए । सोही कन्ट्याक ट्रेसिङका आधारमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनका परिवारको नमुना परीक्षण प्रक्रिया अघि बढाएको छ ।

परिवारका सदस्य समेतलाई आइसोलेसन गरी सुरक्षित तवरले परीक्षण गर्न लागिएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए । पुस ५ गते नेपाल आएका व्यक्तिबाट भने अन्य कसैमा संक्रमण नसरेको उनले बताए ।

समुदायमा फैलिने जोखिम कति ?
यसअघि भारत लगायतका मुलुकमा एम्पक्सको क्लायड १बी उपप्रजाति फैलिएको थियो । नेपालमा हाल देखिएको भेरियन्ट कुन हो भन्ने हालसम्म परीक्षण भएको छैन ।

“भेरियन्ट कुन हो भन्नेले त्यति ठूलो अर्थ राख्दैन, अहिलेलाई संक्रमितको उपचार, उनको सम्पर्कमा आएकाहरूको खोजी र परीक्षण तथा समुदायमा सचेतना नै प्राथमिकता हो”, निर्देशक घिमिरेले भने ।

समुदायमा फैलिन सक्ने भयावह अवस्था नभए पनि जोखिम भने रहेको उनको भनाइ छ । सचेतना र रोकथामका निम्ति स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड अपनाउन उनको आग्रह छ ।

एम्पक्स कति खतरनाक ?
मानिसमा ‘मंकीपक्स’ नामक भाइरसबाट हुने एक प्रकारको संक्रमण हो एम्पक्स । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई स्मलपक्स विफरकै एउटा प्रजाति भएको जनाएको छ । एम्पक्सको लक्षण देखिनेदेखि निको हुनेसम्मको अवधि पाँचदेखि २१ दिनसम्म रहने संगठनले जनाएको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यसका लक्षण दुईवटा चरणमा देखिन्छन्, सुरुआती चरणमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निने जस्ता लक्षण देखिन्छन् भने दोस्रो चरणमा बिमिरा आउने, विस्तारै बिमिराहरू पानीफोकाको रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ ।

एम्पक्स संक्रमणबाट हुने बिमिरा अनुहारमा पहिले देखिन्छन् र विस्तारै शरीरका विभिन्न भागमा फैलिँदै जान्छ । विशेषगरी, टाउको, हत्केला, पैताला जस्ता भागमा यस्ता बिमिरा धेरै देखिन्छ र केही दिनपछि आफैँ निको भएर जान्छ ।

तर, केही व्यक्तिमा भने यसले इन्सेप्लाइटिस, निमोनिया जस्ता जटिलता  पनि निम्त्याउन सक्ने डा. पुन बताउँछन् । एम्पक्स जटिल अवस्थामा पुगेमा आँखामा संक्रमण भइ दृष्टी गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गभ{ खेर जाने र संक्रमितको मृत्यु समेत हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । डब्लूएचओले भने एम्पक्स संक्रमित १० मध्ये एकजनाको मृत्यु हुनसक्ने जनाएको छ ।

कसरी सर्छ ?
‘यूके हेल्थ सेक्युरिटी एजेन्सी’का अनुसार संक्रमित व्यक्तिको नजिकमा रहेका व्यक्तिमा श्वासप्रश्वास, आँखा, र्‍याल, सिँगान, रगतको माध्यमबाट यो संक्रमण सर्छ । एजेन्सीका अनुसार एम्पक्स संक्रमण यौन सम्पर्कबाट सरेको हालसम्म रेकर्ड नभए पनि व्यक्तिसँग शारीरिक रूपमा नजिक रहँदा सर्ने सम्भावना बढी रहन्छ ।

संक्रमित बाँदर, मुसा, लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा एम्पक्स सर्ने सम्भावना उच्च रहन्छ ।

कसरी जोगिने ?
- एम्पक्स शंका लागेका वा पुष्टि भएका व्यक्तिसँगको असुरक्षित सम्पर्कमा नआउने,

- संक्रमित व्यक्तिलाई घरमै वा अस्पतालमा आइसोलेसनमा राख्ने,

- संक्रमितको हेरचाह्र गर्नेले जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्ने

लक्षण देखिए कहाँ जाने ?
एम्पक्स संक्रमण पीसीआर विधिबाट परीक्षण गरी पहिचान गरिन्छ, त्यसैले कसैमा यसका लक्षण देखिए वा शंका लागेमा तत्कालै पीसीआर परीक्षणमा पुग्नुपर्दछ । त्यसका निम्ति स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा अस्पतालहरू तोकेको छ ।

संक्रमितको सम्पर्कमा आएको सतह वा स्थानकोठा आदि तुरुन्तै स्यानिटाइज गर्नुपर्दछ भने सो क्रममा उत्पादन भएको फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्दछ । एम्पक्सबारे विस्तृत जानकारी निःशुल्क हटलाइन नं. १११५ बाट पनि लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro