काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाबिना कुनै पनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनै पनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताए ।
उनले खेलकुदमा युवाहरू बढी हुने भएकाले कांग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।
उनले भने, "खेलकुद जगत अत्यन्तै महत्त्वपूर्ण हो । एउटा भनाइ छ, स्वस्थ शरीरमा स्वस्थ दिमाग रहन्छ । खेलकुद स्वयं स्वस्थ शरीरका लागि अत्यन्त आवश्यक छ । यो कहावत मात्रै होइन, वास्तविकता पनि हो । खेलकुदका समस्याहरू छन् । खेलकुमा लागेका साथीहरूको लागि अहिले केही कुरा उठेका छन्, ओलम्पिकको सन्दर्भमा रुक्मसमशेर राणाहरूको कमिटी थियो । त्यसलाई सर्वोच्च अदालतले मान्यता दिइसकेपछि त्यसलाई हामी लागु गर्नुपर्दछ । कसले मान्छ, मान्दैन भन्नेकुरा होइन, सर्वोच्च अदालतको आदेश मान्नुपर्छ, लागु पनि गर्नुपर्छ ।"
सभापति देउवाले खेलकुद जगतलाई नेपाली कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाए ।