site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
चिया

सरला घर बढार्दैछ । धूलो बुङ्गबुङ्गती उडिरहेछ । उसलाई थाहा छ धूलोले मलाई रुघा लाग्छ । म धूलोको एलर्जिक छु ।

‘सरला, अलिक बिस्तारै ।’ —म भन्छु । ऊ केही बोल्दिन । एकफेर मतिर हेर्छे... रिसाएको आँखाले । र कुचो कुनामा ठड्याएर बाहिर निस्कन्छे ।

मलाई चियाको तलतल छ । कति बेरदेखि म आफूलाई फुल्याइराखेको छु । उसलाई थाहा छ बिहान एक कपले मलाई पुग्दैन । तर दोस्रो कपको प्रतीक्षा एउटा लामो यात्रा जस्तो भइदिन्छ ।

Dabur Nepal
NIC Asia

चिया मेरो कमजोरी हो र सरला चिया मीठो पकाउँछे । कहिले काहीँ लाग्छ, मेरो दश वर्ष लामो यात्राको प्राप्य हो यही चिया । जसलाई जहिले पनि मैले एउटा भिक्षाको रूपमा ग्रहण गरिराख्नु परेको छ । र यसै माध्यमबाट ऊ आफ्नो स्वामित्वको बोधलाई झस्काइराखेकी हुन्छे ।

धेरैको भनाइ छ सरलाको हात नै मीठो हो । उसले जुनसुकै खाना छोइदिँदा पनि मीठो हुन्छ । हुनसक्छ कुरा ठीक होस् । हुनसक्छ कुरा बेठीक होस् । कति मानिसहरू घरमा खानमात्र पनि त आउँदैनन् । पेटको भोक एकातिर, मनको भोक अर्कातिर । 

सरला राम्री छ । एउटी छोरीको आमा भए तापनि जीउको धार मरेको छैन । हुन सक्छ त्यस धारले म कहाँ खान आउने मेरा ‘पाहुना’हरूलाई पनि काट्दो हो । र मीठो खाने निहुले त्यस घाउलाई आलो पार्न मकहाँ उनीहरू बारबार आउने चाहना गर्दा हुन् ।
म महसूस गर्छु, जति जति मान्छेको भीड बढ्दै जान्छ, म एक्लिँदै जान्छु । जति जति मेरो पत्नीको प्रशंसकहरू बढ्दै जान्छन्, मेरो अधिकार र प्राप्यको अंशबण्डा हुँदै जान्छ । सरला दुई–चार लुगाहरू बोकेर धारातिर लाग्छे । स्मिता पनि हुर्रिँदै आफ्नो कोठाबाट धारामा झर्छे । 
देख्छु ऊ खुट्टा बजार्दै छे । उफ्रिँदै छे । धाराको छलछल शब्द चर्को छ । कुरा के हो बुझिन्न । हुन सक्छ उसलाई कापी–कलम केही किन्नु पर्‍यो होला अथवा उसको केही हरायो होला ।

‘... जा न आफ्नो बाबुलाई भन्’ —धाराको प्रतिरोध विरुद्ध सरलाको चर्को आवाज मेरो कानमा पर्छ । स्मिता रुँदै भर्‍याङ उक्लन्छे र आफ्नो कोठातिर लाग्छे । मकहाँ आउँदिन ।

मलाई लाग्छ, यस घरमा एउटा लडाइँ लडिँदै छ । मेरो विरूद्ध, अस्तित्वको विरुद्ध, मेरो पतित्वको विरूद्ध लडाइँ । यस घरमा दश वर्षदेखि स्थापित मेरो पदको विरूद्ध लडाइँ । तर यो लडाइँ, जीउमा उम्लिराखेको पानी खन्याएर अत्याउने खालको होइन । 
विस्तारै–विस्तारै मलाई चारैतिरबाट हिमनदीले पुर्दै जाने एउटा दीर्घकालीन योजनाको लडाइँ हो । छोरीसम्मले पनि मतिर उपेक्षाको स्याँठ हुत्याएर जान्छे । र म दोलाईभित्र कक्रिँदै जान्छु । 

सरलाको लुगा धुन अझै सकेको छैन । उसलाई आज अफिस जानु छैन कि ।
देख्छु पल्ला घरको अरुण धारामा आउँदै छ । हातमा साबुन, मुखमा ब्रस । ऊ अरुणका लागि धारो छाडिदिन्छे । अरुणलाई पनि कुनै हतारो छैन जस्तो छ । निकैबेरसम्म ऊ मुखमा ब्रस नचाइराख्छ । 
धारोको पानी छलछल बगिरहन्छ । सरला उभिराखेकी छ । र उसको हातमा साबुनको फीज सुक्दैजान्छ । अरुण धेरैबेरपछि धारोबाट हट्छ र जाँदाजाँदै ओठको चरबाट एक चोर हाँसो झारेर जान्छ ।
अरुण कुनबेला लुसुक्क हाम्रो गृहस्थीमा पस्यो, भन्न गाह्रो छ ।
सम्बन्ध त एक छिमेकको मात्र हो । तर लाग्छ, छिमेकीभन्दा पनि बढी कुनै सम्बन्ध हुन्छ जुन उसले बिस्तार–बिस्तार, नबुझिँदो किसिमले, घरमा स्थापित गरिसकेको छ । 

बट्टाको दूध पाउँदैन, अरुण ल्याउन सक्छ । बजारमा मट्टीतेल पाउँदैन, अरुण खोजेर ल्याउन सक्छ । सिनेमाको टिकटमा ब्लैक छ, उसको एउटा फोनले कन्सेसन टिकट उडेर आउँछ । यहाँसम्म कि स्मितालाई चिडियाखाना डुलाउनु छ, अरुण अंकल तयार । सरलालाई सारी किन्न विशालबजार जानु छ, अरुण देवर हाजिर ।
सरला लुगा निखार्छे र सप्कोमा हात पुछ्दै माथि उक्लन्छे । त्यसपछि कौसीमा उक्लेको आवाज सुन्छु । सारा घर थर्काउने गरी भर्‍याङ उक्लेको आवाज ! लुगा सुकाउन गइहोली । 
पछि फेरि कौसीबाट झरेको आवाज सुन्छु । बडो हतारिँदो पाइलाको आवाज छ । त्यसपछि छिनमै भान्सा कोठामा स्टोभ कराउन थाल्दछ ।

केहीबेरपछि ऊ मेरो कोठामा पस्छे । हातमा एक कप चिया छ । ‘अफिस ढिलो होला ।’ —ऊ चिया टेबिलमा राख्छे र खुस्कन लागेको सारीलाई जीउमा बेर्दै बाहिर निस्कन्छे । म चियाबाट निस्केको बाफ हेर्न थाल्दछु । 
अनि सुनिन्छ, भान्सामा थाल–कचौरा जुधेका र डाडू–पनिउँ चलेका आवाजहरू । र सोच्न थाल्दछु, चिया खाऊँ कि भात ?
(अधिकारीको कथाकृति ‘अस्वीकृत’बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro