काठमाडौं । भारतको बिहार राज्यमा पछिल्लो समय अनौठो चलन देखिन थालेको छ । मृत्युपछि शोक मानाउनुको सट्टा व्यावसायिक नृत्यागंना बोलाएर नाचगान गर्ने चलन बढेको छ ।
चौबिस वर्षीया रिया नृत्यागंना हुन् । उनी भन्छ्नि्, "यहाँका मान्छेहरू मृत्युमा पनि नाच्न लगाउँछन् । शव यात्रासँगै हामीले पनि नाच्नुपर्छ । यहाँका मान्छेहरूलाई मृत्युमा पनि नाचगान गराउने सोख छ ।"
रियाकी साथी हुन काजल सिंह । उनले पहिलोपटक पटनाको दनियामा यस्तै नृत्य गरेकी थिइन् ।
उनीहरू विवाह, मृत्यु, जन्मदिनजस्ता संस्कारमा नाच्ने गर्छन् । मृत्यु संस्कारमा नाच्ने चलनलाई बिहारमा ‘बाइजीको नृत्य’ गरिन्छ । बिहारका धेरै स्थानमा यो चलन नयाँ ट्रेन्डका रूपमा उदाउँदै छ ।
पटनाकी कोमल मिश्राले १५ वर्षकै उमेरमा यो काम सुरु गरकी थिइन् । अहिले उनी ३२ वर्ष पुगिन् । उनी भन्छिन्, "मृत्यु होस् कि विवाह दुवैमा एउटै प्रकारको नृत्य हुन्छ । बिचमा कमिसन लिने मान्छे भएन भने एक रात नाचेको ६ हजारसम्म पाइन्छ । राति ८–९ बजे नाच सुरु हुन्छ, बिहान ५ बजेसम्म चलछ । सुरुमा हिन्दी गीत बज्छन्, बिहान हँदै गएपछि अश्लील भोजपुरी गीत बज्न थाल्छन् ।"
मृत्युमा नाच्नका लागि पनि लेहेंगा र छोटा लुगामा आउन भनेर डिमान्ड गर्ने गरेको काजल बताउँछिन् । उनका अनुसार, मृत्यु संस्कारमा हुने नृत्यका क्रममा मान्छेहरू पैसा देखाएर नृत्यागंनालाई नजिक बोलाउँछन् । अनि काखमा राखेर नाच्न लगाउँछन् ।
बिहारको भोजपुर, औरंगावादख, बाँका, रोहतासजस्ता कतिपय स्थानमा यो चलन बढ्दो छ । शव यात्रा, श्राद्धमा पनि यस्तो कार्यक्रम गरिन्छ । यी कार्यक्रममा विवाह, जन्मोत्सव जसरी बन्दुक पड्काइन्छ ।
यस्तै, एउटा श्राद्धमा भइरहेको नृत्य कार्यक्रममा पड्काइएको गोली लागेर आर्शीवाद कुमारको मृत्यु भयो । उनका बुबाका अनुसार, उनीहरू छिमेकी जानकी देवीका श्राद्ध कार्यक्रमको नाच हेर्न गएका थिए । आर्शीवाद कुमार पनि नृत्यागंनासँगै स्टेजमा नाच्न गए । नृत्यागंनाको हातमा भएको पेस्तोल पड्किँदा उनको मृत्यु भयो ।
कोमल भन्छिन्, "पहिला त डर लाग्थ्यो, अब त लाग्दैन । मेरो नाचको कार्यक्रममा गोली चलेन भने मेरो नाच हुनुको केही अर्थ नै भएन नि जस्तो लाग्छ ।"
लोक परम्परा अुनसार, मृत्युको समयमा र मृत्युपछि हुने विधि, विधानमा गायन परम्परा छ । तर, उत्तर प्रदेशको पिजी गाजिपुर कलेजका अंग्रेजी प्राध्यापक रामनारायण तिवारीका अनुसार, नृत्य परम्परा भने थिएन ।
उनी भन्छन्, "मृत्यसँग तीन गायन परम्परा छन् । पहिलो मृत्यु गीत, दोस्रो निर्गुण र तेस्रो नारायणी । तर, यी कुनैमा पनि नृत्य छैन ।"
मृत्युसँग जोडिएको पारम्परिक गायनमा ग्लानी, करुणा र शान्त रस हुने गर्थे । तर, बिहारमा आजभोलि चलिरहेको नृत्यमा भने विलासिता, अश्लील हुन्छ ।
पाटलिपुत्र विश्वविद्यालयका संगीत शिक्षक पल्लबी विश्वासका अनुसार, सुरुमा मृत्युमा ऋचागान हुन्थ्यो । पछि यसमा निर्गुण थपियो ।
उनी भन्छिन्, "मृत्युपछि यस धर्तीमा बसेका र छोडेका दुवैको यात्रा सहज बनाउन ऋचागन गरिन्थ्यो । पछि निर्गुण थपियो । निर्गुणपछि मृत्युमा दुगोला गाउन थालियो । पछि विस्तारै महिलाहरू दुगोलामा नाच्न थाले । अहिले भोजपुरी गीतमा उत्तेजक नृत्य गरिन्छ ।"
दुगोला एक प्रकारको गायन हो । जसमा आँसु कविहरूको दुई वा बढी समूह हुन्छन् । दुगोलामा पहिले धार्मिक विषयलाई प्रश्न–उत्तरको लाइनमा गाइने भए पनि अहिले जातीय व्यंग्य बढेको छ । बिहारको संस्कृति बुझ्ने वरिष्ठ पत्रकार निराला बिदेसिया भन्छिन्, "विगत ३० वर्षदेखि मृत्युको अवसरमा दुगोला गाइन्छ ।"
नृत्यागंना कोमल भन्छिन्, "श्रद्धा होस् वा बिहेका गीत, जातका आधारमा तय हुन्छ । विभिन्न जातका मानिसले आआफ्नो जातका कलाकारका गीत आआफ्नो इच्छाअनुसार बजाउँछन् ।"
कतिपयले समाजको दबाबमा नृत्यागंना बोलाउँछन् । नालंदाको गोविन्दपुर निवासी अजय यादवले बुवा बोधि यादवको मृत्युमा नर्तकीहरू पनि बोलाएका थिए ।
अजय भन्छन्, "मेरो घरमा टेन्ट पन्डल राखेको थियो । त्यसैले समाजका मानिसहरूले नृत्य कार्यक्रम आयोजना गर्न आग्रह गरे । हामीले पवापुरीबाट छजना नाच्ने केटीलाई बोलाएका थियौँ । पहिले निर्गुण भयो । त्यसपछि भोजपुरी गीत बज्यो र राति नाच्न थाले । यो देखेर आमा निकै दु:खी हुनुहुन्थ्यो र केही दिनसम्म रिसाउनुभयो ।"
टाटा इन्स्टिच्युट अफ सोसल साइन्सका पूर्व प्राध्यापक पुष्पेन्द्र भन्छन्, "पहिले मानिसहरू आयु छोटो हुन्थ्यो । यस्तो अवस्थामा कोही लामो आयु बाँचे भने त्यो उसको परिवारका लागि उत्सवको विषय हुन्थ्यो । त्यही भएर शवयात्रामा ब्यान्ड, हात्ती, घोडा, उँट बजाउने, पैसा बाँड्ने र फूलवृष्टि गर्ने मानिसहरूको साथ थियो । जुन अहिले पनि देखिन्छ ।"
समाजशास्त्रीहरूले भने यो प्रवृत्तिलाई समाजका लागि राम्रो मानेका छैनन् ।
बीबीसी हिन्दीबाट ।