काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट इन्जिनियर ध्रुव महर्जनले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।
यस्तै, कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति राप्रपाका तर्फबाट सुरेन्द्र उप्रेतीले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति राप्रपाका तर्फबाट विजेश बस्नेतले उमेदवारी दिएका छन् ।
आसन्न उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।
आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रमानुसार, मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरिनेछ । मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।
मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । मंसिर ५ गते नै दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम छ ।