site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुर उपनिर्वाचन : रास्वपामा एकल उमेदवारी, किन भएन निर्णय ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा कीर्तिपुर नगरपालिकाको मेयर पदको उमेदवारका लागि जयराम कार्कीको मात्रै उमेदवारी परेको छ । रास्वपाले माग गरेको प्रारम्भिक उमेदवारीमा पार्टीको कीर्तिपुर नगर सभापति कार्कीले मात्रै दाबी गरेका छन् । 

रास्वापाले बुधबार उपनिर्वाचनका निम्ति १७ स्थानको उमेदवारको नाम प्रकाशन गरेको छ । तर, मेयर उमेदवारका लागि एकल दाबी परे पनि कीर्तिपुरको मेयर उमेदवारको नाम सार्वजनिक गरिएको छैन । 

एकल दाबी परे पनि कीर्तिपुरमा किन निर्णय भएन भनि बाह्रखरीले उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीलाई प्रश्न गरेको छ । उनले उक्त क्षेत्रको उपनिर्वाचन परिचालन समितिले निर्णयका लागि समय माग गरेको बताए । 

“सम्बन्धित क्षेत्रको निर्वाचन परिचालन समितिले केही तयारी गरिरहनु भएको होला । टुंग्याउन केही समय माग्नुभएको छ,” उनले भने । 

प्रारम्भिक रूपमा उमेदवारी आह्वान गर्दा एकल उमेदवारी परेको र सम्बन्धित समितिले निर्णय गरेपछि मात्रै सार्वजनिक गरिने पराजुलीले बताए ।

रास्वपा नेतृत्वले कीर्तिपुरमा यसअघि प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–१० मा पराजित भएका पार्टीको काठमाडौं जिल्ला संयोजक प्रदीप विष्टलाई उमेदवार बनाउन चाहेको थियो । तर, संघमा उमेदवार भइसकेको व्यक्ति नगरमा जान उपयुक्त नहुने आवाज उठेपछि उनी पछि हटेको एक नेताले बताए । 

तथापि, संघीय निर्वाचनमा कीर्तिपुरबाट नेपाली कांग्रेसको भन्दा बढी मत पाएका विष्टलाई नै उमेदवार बनाउनुपर्ने मत रास्वपामा कायम नै छ । “उमेदवार तय गर्न विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । प्राइमरी इलेक्सन नभएको ठाउँमा मंसिर २ गते बिहानसम्म निर्णय आउँदासम्म फरक पर्दैन,” एक नेताले बाह्रखरीसँग भने ।

आउँदो मंसिर १६ गते ४२ स्थानीय तहको रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । त्यसका लागि मंसिर २ गते उमेदवारी दर्ताको कार्यक्रम छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro