site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
खुकुरी र सुङ्नामे काका 

दसैँपछि जनक सरहरू पूर्वी पहाडको भ्रमणमा निस्किनुभएको थियो । उहाँहरूको भ्रमण ओखलढुंगा, खोटाङ, संखुवासभा र भोजपुरसम्म विस्तार भएछ ।

संखुवासभा करुवा र भोजपुर खुकुरीका लागि चर्चितस्थल । जनक सरले भोजपुरमा खुकुरी किनेको कुरा बताउनुभयो । कतै गएपछि त्यो स्थानको खास उत्पादनले जोसुकैको ध्यान तान्नु स्वाभाविक हुन्छ ।

हालैको भ्रमणमा मैले पनि फुङ्लिङमा कोसेलीघरमा हर्पे किन्न खोजेको थिएँ । दारको हर्पेलाई दुई हजारभन्दा माथि पर्ने ! हर्पे दारकै हो कि होइन भन्ने बारेमा हामी स्पष्ट भएनौँ ।

Dabur Nepal
NIC Asia

वस्तुको गुणस्तरका बारेमा उपभोक्ता स्पष्ट भएन भने खरिद–बिक्री प्रक्रिया अवरुद्ध हुन्छ । अचेल महका बारेमा त्यस्तै भ्रामक जानकारीहरू सामाजिक सञ्जालमा आएका छन् ।

उपभोक्ताले कुनै न कुनै तरहले वस्तु किन्ला । उसका सामु अनेक विकल्पहरू छन् । भ्रामक जानकारीले घाटा पुग्ने भनेको उत्पादकलाई नै हो ।

जनक सर भन्दै हुनुहुन्थ्यो, ‘मार हान्ने खुकुरी त निकै महँगो पर्ने रहेछ, सोधेँ मात्रै ! भोजपुरको चिनोका रूपमा एउटा ठिक्कको कलात्मक खुकुरी भने ल्याएँ ।’

मार हान्ने खुकुरी सामान्य खुकुरीभन्दा लामो र ठूलो हुन्छ । मार हान्ने खुकुरी मार हान्नकै लागि चाहिने हो । सामान्यतया मार हान्ने खुकुरीले मासु टुक्र्याउने गरिँदैनथ्यो । मार हानिसकेपछि मार हान्ने खुकुरीलाई तेल लगाएर दापमा राखिन्थ्यो ।

हामीकहाँ (तीनपाटन, सिन्धुलीका सोह्रखहरे र कदमेगाउँमा) मार हान्न नामी थिए सुङ्नामे काका । सुङ्नामबाट तीनपाटन बसाइँ सरेर आउनुभएको होला, सजिलोका लागि मानिसहरूले सुङ्नामे भनेर चिन्न थाले ।

खसी जत्रोजुकै होस्, उहाँले खुकुरी मच्चाएर हानेपछि खसी नछिनेको रेकर्ड नै नाइँ । हाम्रातिर मांसाहारी सबैको घरमा हुन्थ्यो, मार हान्ने खुकुरी । त्यो खुकुरी बेलैमा केउरिनीमा नीरबहादुरकहाँ लगेर अर्जाप्नुपर्ने ।

आरन चलेको बेला छ भने अर्जाप्त खासै टाइम नलाग्ने । कसैले पाइन चढाउने कुरा गर्थे । पाइन चढाउन खुकुरीलाई रातो पारेर पानीमा झ्वाइँ पार्नुपर्ने । पाइन चढाएपछि हतियार नदोब्रिने, बरु भाँच्चिने, बरु झर्ने ।

हतियारका सन्दर्भमा झर्ने भनेको धारतिरको भाग चोइटिएर केटाकेटीको दाँत फुक्लिएजस्तो हतियार खुँडे देखिने । अर्जाप्ने र पाइन चढाउने काम सकिएपछि साँध लगाउनुपर्छ, अनि धार निक्लिन्छ । सुङ्नामे काका खसी मार हान्नुअघि हातले यही धार जाँच्नुहुन्थ्यो । खुकुरी हेर्दा गतिलो छ र धार ठिक छ भने काकालाई पुग्यो ।

आरन बाह्रै महिना चल्ने । हँसिया, कँचिया, कोदालो, बन्चरो आदि सधैँ प्रयोगमा रहने हतियार । अलिकति भुत्ते भयो कि आरनमा पुर्‍याइहाल्यो । अर्जापिहाल्यो, साँध लगाइहाल्यो । अनि, काट्न, ताछ्न सजिलो । आरनमा भुंग्रो पार्न पहिले कोइला हालेर खँलाती लगाउनुपर्थ्यो, छालाको खँलाती । पछि घुमाइदिएपछि ह्वार्र बल्ने र कोइला सल्काएर लगत्तै भुंग्रो तयार हुने मिसिन आयो । अब सजिलो भयो ।

वर्ष दिनसम्म फलामको काम गरिदिएबापत मंसिरमा धान दिनुपर्ने । यसरी दिएकोलाई ‘बाली दिएको’ भन्ने चलन थियो । दसैँमा खसीको गर्दन दिनुपर्ने । हाम्रातिरको बालीघरे प्रथाको एउटा नमुना यो । वर्षभरि कपडा सिलाइदिएबापत पनि यसैगरी दिनुपर्थ्यो ।

दसैँमा घरघरै काट्नुपर्ने खसी । बाहुनहरू खसी पाल्थे र खसी काट्थे । नेवार परिवारमा राँगाको बन्दोबस्त हुन्थ्यो । राँगाका लागि धेरै परिवार मिलेर राँगो ल्याइन्थ्यो । नेवार परिवारमा पनि धेरैले खसीबोका पनि काट्थे । त्यसैले दसैँमा मार हान्ने सवालमा सुङ्नामे काकालाई भ्याइनभ्याइ हुन्थ्यो ।

काकाबाहेक नेवारमा जंगबहादुर, परेम, सम्बरबहादुर, खुद्दवलाल, हाकु ठूल्दाइ आदि पनि मार हान्थे । बाहुनमा चैँ स्वर्गीय तेजकुमार कोइराला नामी हुनुहुन्थ्यो । पछि प्रह्लाद र शम्भुले पनि धेरै मार हाने ।

एकादुई त हरिले पनि मार हानेजस्तो लाग्छ । घरमा जखमले खसी छ भने सबैले सुङ्नामे काकालाई सम्झिने । उहाँ नभए शम्भुले जिम्मेवारी लिनुपर्ने ।

मार हान्न पानी तताउनुपर्ने खड्कुँलोमा । खरानी हालेर तताउनुपर्ने पानी । घरभित्रको अगेनाले नथेग्ने । घरबाहिर ढुंगाको चम्को लगाएर चुलो बनाउनुपर्ने । पानी ठिक्क तात्नुपर्छ, नत्र जिम्लिन्छ । पानी जिम्लियो भने काम दिँदैन ।

चम्कोमा आगो लगाउने काम केटाकेटीको । पानीमा खरानी हाल्न र पानी भयो कि भएन भनेर जाँच्न केटाकेटीले जान्दैनन् । त्यसका लागि जानेकै मान्छे चाहिन्छ ।

त्यसो त खसी काट्न एउटा टिम नै परिचालन हुनुपर्छ । खसीको खुट्टा समाउनुपर्छ, टाउको समाउनुपर्छ । मार हार्ने व्यक्तिबाहेक यसका लागि कम्तीमा तीनजना चाहियो ।

मार हान्नुअघि खसीलाई पर्सिनुपर्छ । पर्सिनु भनेको खसीलाई पानी छम्किनु हो । खसीबाख्राले पानी शरीरमा परेको नरुचाउने । पानी पर्‍यो भने शरीर हल्लाएर झार्ने । मार हान्ने सन्दर्भमा यसरी पानी झार्नलाई खसीबोकाले शरीर हल्लाउनु भनेको ‘मान्नु’ हो । मानेपछि हान्नुपर्छ, मार ।

मार हान्नका लागि खुद्रामसिना अरू पनि तयारी गर्नुपर्छ । पहिलो त खसी मार हान्नुअघि कुभिन्डो वा घिरौलालाई मार हान्नुपर्छ । यसका लागि कुभिन्डोलाई झिक्राको खुट्टा लगाएर उभ्याउनुपर्छ । यसको तयारी गर्नुपर्‍यो । मार हान्दा जमिन वा ढुंगामा ठोक्किएर खुकुरी भाँचिने डर हुन्छ । त्यसका लागि केराको थाम खसीमुनि राख्नुपर्‍यो ।

खसी मार हानेपछि ह्वाल्ल रगतको खोला बग्छ । त्यो रगतलाई थाप्ने भाँडो चाहिन्छ । यस्तो रगतलाई रक्ति भनिन्छ । यो थाप्न भाँडो र मानिस तयार रहनुपर्‍यो । रगत झार्न खसीलाई उचाल्नुपर्छ । उचाल्ने मानिसहरू तयारी अवस्थामा हुनुपर्‍यो ।

खसी सामान्यतया एकैचोटमा छिन्नुपर्छ । दसैँमा खसी काट्ने सवालमा सुङ्नामे काकालाई पहिलो प्राथमिकता दिनुको कारण पनि यही हो । एकैचोटमा खसी छिनेन भने दशा लाग्छ भन्ने बुझाइ छ । त्यसैले हतियारको अवस्था विशेष ख्याल राख्नुपर्छ । मार हान्दा खसीले मुन्टो बटार्‍यो भने छिन्दैन । त्यसैले टाउको र खुट्टा समाउने मान्छे दह्रो र अनुभवी हुनुपर्‍यो ।

खसी छिनेपछि मार हान्ने खुकुरीमा लागेको रगत खसीकै रौँमा पुछ्नुपर्छ ।

ती दिनमा तीनपाटनमा साउने/माघे संक्रान्ति, चैते दसैँ र बर्खे खेती मैजारो भएपछि अनिवार्य रूपमा खसी काटिन्थ्यो । त्यसो त टोलसल्लाह मिलाएर अन्य दिन पनि खसी काट्ने गरिन्थ्यो ।

खसी काट्ने मुख्य चाड भनेको दसैँ हो । तीनपाटनमा धेरैजसो परिवारमा दसैँमा पाठीबोका बलि दिने चलन थिएन । (कसैकसैले कोटगाउँस्थित पाटनदेवीको थानमा बलि चढाउँथे, यत्ति हो ।) खसी मार हानिन्थ्यो र त्यसका लागि दसैँको महाअष्टमीको दिनलाई चुनिन्थ्यो ।

कतिपय परिवारमा दुइटा खसी पनि काटिन्थ्यो । (मूल परिवारबाट छुट्टिएर भिन्न भएपछि हाम्रो परिवारमा पनि दुइटा खसी काट्ने गरिएको थियो ।) यस्तोमा भने एउटा खसी फूलपातीको दिन र अर्को खसी महाअष्टमीका दिन काट्ने गरिन्थ्यो । काटमारमा पुरुषको मात्र सहभागिता रहन्थ्यो । मासु टुक्र्याउने काम पनि वयस्क पुरुषबाट सम्पन्न हुन्थ्यो ।

महिला र केटाकेटीको कामचैँ आन्द्राभुँडी धुने । कतिपयले ननिख्रिएका रौँ निखार्ने काम पनि केटाकेटीलाई दिन्थे । नत्र केटाकेटीको काम मासु पोल्ने र खाने ।

यी दिनमा खसी कत्तिको मोटो छ भन्ने कुराको खास मूल्य थियो । खसी मोटो पार्न दाना दिनुपर्छ भन्ने थियो । खसीलाई दिने दाना भनेको मुख्यतः मकै । दाना खाएको खसी मोटो हुने । मोटो खसीको बोसो धेरै हुने । त्यसैले कसको खसी कति धार्नी भयो र कसको खसीको बोसो कति देखियो भन्ने विषयमा चासो रहन्थ्यो ।

अब उपभोक्तामा स्वास्थ्य सजगता बढेको छ । खसी/राँगाको रातो मासुको सट्टा चिकेन र माछा बढी रोज्छन्, सहरी उपभोक्ता । खसीको मासुमा पनि बोसाको मात्रा कम हुनुपर्ने । खसीको टाउको, खुट्टा र आन्द्राभुँडीलाई अर्को वर्गमा राखिने । घरमा खसी अब कसले काट्छ र ! काट्नैपरे पनि बुच्चर हाउसहरू छन्, काटकुट र सफाइसम्बन्धी सबै सेवा त्यहीँ उपलब्ध हुन्छ ।

अब खुकुरी सजावटको वस्तु भएको छ । सजावटका लागि ठिक्क आकारको भए पुग्यो, ठूलो र लामो खुकुरी चाहिएन । नेपाली सहरी उपभोक्तामाझ ठूलो र लामो मार हान्ने खुकुरीको लोकप्रियता ओरालो दिशामा देखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro