काठमाडौं । दुई वर्ष पहिले डोनाल्ड ट्रम्पले एलन मस्कलाई गाली गरेका थिए । अघिल्लो राष्ट्रपतीय चुनाव हारेपछि आक्रोशित भएका ट्रम्पलाई मस्कले घुमाउरो पारामा हार स्वीकारेर घुम्न जान र आराम गर्न सुझाएका थिए । त्यतिखेरै मस्कले ट्रम्प जोगिने एउटा मात्र उपाय उनी फेरि राष्ट्रपति हुनु हो भनेका थिए । नभन्दै डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए । ट्रम्प राष्ट्रपति निर्वाचित भए पनि चुनाव भने मस्कले जितेको रूपमा अथ्याइँदै छ ।
कुनै समय रिपब्लिकन र टुइटर एकअर्काका विरोधी मानिन्थे । सन् २०१६ र २०२० मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा टुइटरले रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पको भोट कम गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । तर, सन् २०२४ को चुनावमा भने ठिक उल्टो भयो । किनभने यसपटक डोनाल्डको साथमा थिए एक्स (पुरानो टुइटर)का मालिक मस्क ।
सन् २०२१ सम्म अमेरिकाका १७ प्रतिशत जनताले टुइटरलाई लोकतन्त्रका लागि राम्रो मान्थे । तर, २०२२ मा मस्कले टुइटर खरिद गरेर एक्स बनाए त्यसपछि सन् २०२४ को मार्चमा गरिएको सवेक्षणअनुसार अमेरिकाका ५३ प्रतिशत जनताले एक्सलाई लोकतन्त्रका लागि राम्रो मान्न थाले । यो परिवर्तनको कारण हुन् मस्क ।
ट्रम्पलाई दोस्रोपटक अमेरिकी राष्ट्रपतिको पदमा पुर्याउन सबैभन्दा ठूलो योगदान अर्बपति, एक्स, स्पेस एक्स र टेस्लाका मालिक मस्कको छ । रोयटर्सका अनुसार मस्कको सहयोगमा भएको ट्रम्पको जितले अर्बपति व्यापारीले आफू अनुकूल सरकार कसरी बनाउन सक्छन् भनेर प्रमाणित गरेको छ ।
मस्कले यो चुनावमा ट्रम्पको चुनावी अभियानलाई सघाउन भनेर १३३ मिलियन अमेरिकी डलर खर्च गरे । ट्रम्पको चुनावी अभियानमा मस्क एक्लै आएनन् उनले आफ्नो साथमा ल्याए एक्स । मस्क र एक्सको उपस्थितिसँगै अमेरिकाको चुनावी माहोल फेरियो । मस्क ‘गेम चेन्जर’ बनेर निस्किए । वाल स्ट्रिट जर्नल पत्रिकाका अनुसार मस्कले ट्रम्पलाई समर्थन गरेसँगै एक्समा ट्रम्पको समर्थन ह्वात्तै बढ्यो ।
ट्रम्पलाई दोस्रोपटक ह्वाइट हाउस छिर्ने बाटो बनाइदिएका मस्कलाई ट्रम्प ‘अमेरिकी तारा’ भन्ने गर्छन् । जितपछिको सम्बोधनमा ट्रम्पले मस्कलाई ‘तारा’को संज्ञा दिए ।
अमेरिकी चुनावभरी मस्कले आफ्नो एक्स प्रोफाइल मात्र होइन एक्सलाई नै ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’को मुखपत्र बनाए । मस्कले ट्रम्पलाई आर्थिक, नीतिगत र सामाजिक सञ्जालबाट सघाए । त्यसैले त ट्रम्पको जितसँगै मस्कले एक्समा लेखे, “भविष्य अझै सानदार हुनेछ ।”
आलोचकहरूले मस्कले एक्सको अल्गोरिदममा फेरबदल गरेर ट्रम्प र आफ्ना पोष्टहरू धेरे मान्छेसम्म पुर्याउने बनाएको आरोप लगाउँछन् ।
चुनावअगावै ट्रम्पले आफ्नो क्याबिनेटमा मस्कलाई खर्च कटौती सचिव बनाउने घोषणा गरिसकेका छन् । मस्कको कम्पनी स्पेस एक्सले सरकारी सुरक्षा संयन्त्रको ठेक्का लिने गर्छ । अमेरिकी क्याबिनेटमा खर्च कटौती सचिव बनेपछि मस्क नियमनकारीको पनि नियमन गर्ने स्थानमा पुग्नेछन् । यो पदबाट मस्कले आफ्ना कम्पनीलाई फाइदा दिलाउने काम गर्छन् कि भन्ने चिन्ता छ विज्ञहरूको ।
अमेरिकी चुनावमा नेताहरूलाई सहयोग गर्ने मस्क एक्ला होइनन् । डेमोक्र्याट उमेदवार कमला ह्यारिसलाई माइक्रोसफ्टका मालिक बिल गेट्सले सहयोग गरेका थिए । तर, मस्कको ट्रम्पलाई सहयोग अरुको भन्दा विशिष्ट थियो । सबैभन्दा ठूलो कुरा मस्कसँग शक्तिशाली सामाजिक सञ्जाल ‘एक्स’ थियो । फेसबुक, टिकटकका जति प्रयोगकर्ता नभए पनि राजनीतिक र बौद्धिक वृतमा सबैभन्दा ठूलो प्रभाव पार्छ एक्सले ।
मस्कले ट्रम्पलाई जिताउन उनको पोलिटिकल एक्सन कमिटी (प्याक) नै बनाएका थिए । मस्कले अमेरिका प्याक बनाएर ट्रम्प र रिपब्लिकन उमेदवारलाई आर्थिक रूपमा सघाए ।
ट्रम्पको समर्थनका लागि भनेर मस्कले ‘स्विङ स्टेट’हरूमा अभिव्यक्ति स्वतन्त्रता र बन्दुक राख्न तथा बोक्न पाउने अधिकारको रक्षार्थ अभियान चलाएर हस्ताक्षर गर्नेमध्ये हरेक दिन एकजनालाई एक मिलियन अमेरिकी डलर दिने घोषणा गरे ।
अभिव्यक्ति स्वतन्त्रतालाई आफ्नो मूल मन्त्र बताउने मस्कले एक्स राजनीतिक रूपमा स्वतन्त्र राख्ने भनेका थिए । तर, उनले आफ्नै वाचा भुले । टुइटर खरिद गरेपछि उनले त्यसले निलम्बन गरेका ६२ हजार एकाउन्ट फर्काए, जसमा डोनाल्ड ट्रम्पको पनि एक थियो ।
सन् २०२० को चुनावमा बाइडेनलाई भोट हालेको दाबी गर्ने मस्कले कुनै समय नवीकरणीय उर्जाको वकालत गर्थे । तर, ट्रम्पको समर्थनमा लागेपछि उनले यी सबै कुरालाई तिलाञ्जली दिए ।
मस्क ट्रम्पको समर्थन र सहयोगमा मात्र लागेनन् । उनी विपक्षी कमला ह्यारिसका विषयमा मिथ्या, भ्रामक सूचना फैलाउन समेत सक्रिय भए । गैरनाफामूलक संस्था सेन्टर फर काउन्टरिङ डिजिटल हेटले गरेको अध्ययनअनुसार मस्कले गरेका यस्ता भ्रामक, मिथ्या पोष्टहरू सबैभन्दा धेरे मान्छेसम्म पुगे ।
एक्समा २०३ मिलियन फलोअर रहेका मस्कले पोस्ट गर्ने मिथ्या र भ्रामक सूचनाको ‘नेटवर्क इफेक्ट’ हुन्छ । उनले गरेका मिथ्या र भ्रामक पोस्ट अन्य सामाजिक सञ्जाल रेडिट, टेलिग्राममा जाने गरेको कार्नेगी मेलन विश्वविद्यालयकी कम्प्युटर विज्ञानकी प्राध्यापक क्याथलिन कार्ली बताउँछिन् ।
यो वर्ष मस्कले निर्वाचनसम्बन्धी गरेका पोस्टमध्ये कम्तीमा ८७ वटालाई तथ्यजाँचकीले भ्रामक र मिथ्या भनेका छन् । सेन्टर फर काउन्टरिङ डिजिटल हेटका अनुसार यी पोस्टहरू दुई विलियनले हेरेका छन् ।
एक्समा मिथ्या, भ्रामक र षड्यन्त्र सिद्धान्तलाई फैलाउने मामिलामा मस्कको भूमिका मुख्य स्रोतका रूपमा छ । जर्मन समाचार संस्था डीडब्ल्यूका अनुसार, उनी यस्ता मिथ्या, भ्रामक सूचना पोस्ट मात्र गर्दैनन्, अरूले पोस्ट गरेका रि–पोस्ट समेत गर्छन् ।
समाचार संस्था सीएनएनका अनुसार, मस्कको एक्समा फैलिएका मिथ्या, भ्रामक सूचनाले अमेरिकाको संघीय निर्वाचन आयोगलाई पनि तनाव भयो । “हामीले सक्दो प्रयास गरिरहेका छौँ, तर मस्कका अगाडि असफल सावित भइरहेका छौँ,” एरिजोनाका वरिष्ठ निर्वाचन अधिकृत स्टेफन रिचरले भने ।
मस्कका ७०० भन्दा बढी पोस्ट विश्लेषण गरेको एनबीसी न्युजका अनुसार, चुनावी प्रक्रियाबारे भ्रम फैलने गरी पोस्ट गरिएका उनका मिथ्या र भ्रामक सूचनाले अरूभन्दा बढी भ्युज पाएका छन् ।
सेप्टेम्बर १६ देखि २० सम्म मस्कले गरेका पोष्टहरूको अध्ययनबाट न्युयोर्क टाइम्सले गरेको विश्लेषणानुसार मस्कले पाँच दिनमा पोस्ट, रिपोस्टसहित १७१ पोस्ट गरे । ती पोस्टमा गैरकानुनी आप्रवासन, चुनावी षड्यन्त्र सिद्धात, जालसाजी र डेमोक्र्याट उमेदवारमाथि प्रहार गरिएका थिए । विज्ञहरूले मस्कले आफ्नो पदीय दुरुपयोग गर्दै अनलाइनको ‘इको–सिस्टम’लाई थप प्रदूषित पार्ने चिन्ता व्यक्त गरे ।
मस्कले डोनाल्ड ट्रम्पलाई जिताउन आफूले सक्ने सबै गरे । उनले पैसा दिए । एक्सलाई ट्रम्पको मुखपत्र बनाए । मिथ्या, भ्रामक सूचना फैलाए । र, उनका यी सबै प्रयास सफल भए अनि डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति भए । त्यसैले त बीबीसीले ह्वाइट हाउस फिर्तीलाई एलन मस्कको जित भनेको छ ।