site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अभिनयले जोगाएको ‘पूर्ण बहादुरको सारङ्गी’ : एक औसत सिनेमा 

आफ्नो सन्तानको उज्ज्वल भविष्यका निम्ति अभिभावकले कतिसम्म संघर्ष गर्छन् ? आफ्नो चोट र व्यथा लुकाएर छोराछोरीका लागि बाबुआमाले कतिसम्म त्याग र तपस्या गर्छन् ? यही नै चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को कथा हो ।

आमाको रहर छोरालाई पढाउने हुन्छ, तर बाबुको गच्छेले भ्याउँदैन । त्यसैले पूर्णबहादुर गन्धर्व छोरालाई आफूसँगै गाउँगाउँ लैजान्छ, सारङ्गी रेट्न र सिकाउन । बाटुलीलाई तिलहरी लगाउने औधी रहर छ, तर पूर्णबहादुरले किन्दिन सक्दैन ।

एकातिर छोरालाई पढाउन नसक्ने र अर्कोतिर एउटा तिलहरीसम्म किन्दिन नसक्ने श्रीमान्‌सँग कसरी बस्ने भन्दै बाटुली हर्केसँग भाग्छे । घटनाक्रमले छोरालाई पढाउनुपर्छ भन्ने इख पूर्णबहादुरमा जन्माइदिन्छ । त्यसपछि छोरालाई पढाउन पूर्णबहादुरले गरेको संघर्ष र यसमा आउने आरोह–अवरोह नै ‘पूर्ण बहादुरको सारङ्गी’को कथा हो ।

Dabur Nepal
NIC Asia

गन्धर्व समुदायको पेसा, पेसाको पुस्तान्तरण, समाजले गर्ने व्यवहार, छोराछोरीको पढाइलेखाइ र जीविकोपार्जनको कथालाई निर्देशक सरोज पौडेलले विजय बरालको काँधमा बोकाइदिएका छन् । कथा भन्न विजयसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, प्रकाश सपूतलगायत कलाकार सिनेमामा देखा पर्छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’को सबैभन्दा सवल र अब्बल पक्ष नै अभिनय हो । यो चलचित्रको हिरो विजय बराल हुन् । त्योभन्दा पनि सिनेमाको नायक उनको अभिनय हो । उनले थिएटर र यसअघि करिब दुई दर्जन चलचित्रमा आफूलाई पाइन हालेर राखेको अभिनयकला देखाएका छन् । अवसर पाए आफू सिंगो सिनेमाको भार बोक्न सक्षम रहेको उनले प्रमाणित गरेका छन् । उनको खारिएको अभिनय यो चलचित्रमा देख्न सकिन्छ ।

बुद्धि तामाङलाई अक्सर हरेक चलचित्रमा उस्तैउस्तै देखिन्छ । हरेक सिनेमामा उस्तैउस्तै देखिने बुद्धिले योपटक मिहिनेत गरेका छन् । उनको चरित्रमा केही फरकपन देखिन्छ ।

मुकुनले पहिलो चलचित्र ‘बुलबुल’बाटै आफूलाई प्रमाणित गरिसकेका हुन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा विजयपछि मुख्य भूमिका उनकै छ । सुरुदेखि उत्तरार्धसम्म मुकुनको अभिनय गजब छ । ‘ग्रे जोन’मा बसेको उनको चरित्रमा अन्तिमअन्तिमतिर पुगेपछि जति बुढ्यौलीपन शरीर तथा दारी–कपालमा देखिन्छ, त्यसको तुलनामा इनर्जी डाउन हुँदैन । अनुहारको चमकमा पनि बुढ्यौली देखिँदैन । उमेरसँगै खिइँदै जाने इनर्जीमा उनले काम गर्न सकेका छैनन् ।

प्रकाश र अञ्जनाको अभिनय औसत छ । उनीहरूले पनि दर्शकलाई निराश बनाउँदैनन् । तर, बाल कलाकार स्वयम् केसीको अभिनयले मन जित्छ । 

चलचित्रमा गीतसंगीतको संख्या धेरै छ । तर, अधिकांश गीतमा गन्धर्वले गाउने ओर्जिनल ट्युनिङ खड्किन्छ । लय मात्र होइन, शब्दमा पनि गन्धर्वको उति धेरै झल्को आउँदैन । बुवा बिरामी भएर अस्पतालमा पैसा नपुगेपछि जुटाउन गाएको गीत भने प्रशंसनीय छ । 

‘पूर्ण बहादुरको सारङ्गी’को ब्याकग्राउन्ड स्कोर कमजोर छ । मौलिक ब्याकग्राउन्ड स्कोर भएको भए त्यसले सिनेमालाई थप उचाइ दिन्थ्यो । ‘काँधेकुरी’ गीतको धुनलाई क्यारी गरेर ब्याकग्राउन्ड स्कोर बनाउन सकेको भए मौलिकपन मात्र देखिने थिएन, त्यसले सिनेमालाई थप इमोसनल बनाउन सहयोग गर्ने थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’को सबैभन्दा कमजोर पक्ष यसको कथा हो । धेरै प्राविधिक पक्षमा रहेको त्रुटिसँगै कथामा ‘पूर्ण बहादुरको सारङ्गी’ कमजोर छ ।

बाटुली (अञ्जना बराइली)को क्यारेक्टर लेखक र निर्देशकले बीचमै अलपत्र छोडिदिएका छन् । घरबाट निस्किएकी उनी एकाध मिनेटमै आफू अलपत्र परेको बताउँछिन्, त्यो विश्वसनीय छैन ।

हेडसर क्रान्तिमा लागेको पात्र हो । क्रान्ति सफल बनाउन लागेको, युवालाई क्रान्तिमा गोलबद्ध गर्दै हिँड्ने पात्र कति संकीर्ण र परम्परावादी ? यो आफैँमा विरोधाभासपूर्ण छ । क्रान्तिकारीको चरित्र चित्रण गर्न नै लेखक र निर्देशक चुकेका छन् ।

चलचित्रको कथा ६० को दशकको हो । कार्यक्रमको ब्यानरमा डाक्टर पासआउटको वर्ष २०६५ उल्लेख छ । तर, त्यसको केही दिनमै क्रान्ति सफल भएको विजय जुलुसको नारा लाग्छ । टाइमफ्रेममा लेखक चुकेका छन् । 

पीसीओको कालखण्डमा त्यति सहजै फोन कन्ट्याक हुन्थ्यो ? पीसीओका बुथ त्यति खाली हुन्थे ? ग्रामीण परिवेशबाट टाढा रहेका छन् लेखक ।

जसकी श्रीमती एउटा तिलहरी किनेर दिन नसकेको, छोरालाई सर्ट किन्न नसकेको, प्राथमिक तह पनि पढाउन नसकेको भन्दै श्रीमान्‌लाई छोडेर हिँडेकी छन् – त्यही परिवेश, गायनकला र व्यक्तिले कसरी छोरालाई डाक्टर पढाउन सक्यो ?

पूर्णबहादुर हप्ता दिनकै ३५ हजार रुपैयाँ जम्मा गर्छन् । उनले सारङ्गी बजाएको र गाएको सुनेर पैसा दिनेले एक/दुई रुपैयाँभन्दा धेरै दिएको देखिँदैन । त्यसो हो भने कसरी जम्मा हुन्छ साता दिनमै ३५ हजार ?

पूर्णबहादुर सारङ्गी रेट्न टाढा गएको निर्देशकले देखाएका छैनन् । तर, उनी कसरी डाक्टर पढाउन पैसा संकलन गरिरहेका छन् ? ओल्लोपल्लो घरमा सारङ्गी रेटेर त डाक्टर पढाउने पैसा जुटाउन सम्भव हुन्छ र ?

पूर्णबहादुरलाई ठूलठूला सहरमा पुर्‍याएर सारङ्गी रेट्न लगाउन निर्देशकले कन्जुस्याइँ गरका छन् । त्यति मात्र गरेको भए पनि डाक्टर पढाउने पैसा गन्धर्वले संकलन गर्न सक्छन्/सक्दैनन् – त्यो बेग्लै कुरा, कम्तीमा प्रश्न नउठाउने वातावरण बन्न सक्थ्यो ।

सुरुमा पूर्णबहादुर आफू बसेको जग्गा श्री ५ को सरकारको भएकाले बेच्न नमिल्ने बताउँछ । पछि त्यही जग्गा उसले बेच्छ । सरकारले जग्गाविहीनलाई धनीपुर्जा दिएको निर्देशकले देखाएका छैनन् । यो लेखनमा देखिएको कमजोरी हो ।

नेपाली हिन्दु संस्कारमा आमाबाबुको मृत्युपछि दागबत्ती छोराले दिन्छन् । पूर्णबहादुरको छोरो भक्तपुरमा छ । गाउँमा बाबुको मृत्यु हुन्छ । बाबुको दाहसंस्कारमा छोरोलाई किन बोलाइएन ? विदेशमा रहेका छोराछोरी नआउँदासम्म शव रुँगेर पर्खने समाजमा भक्तपुरमा रहेको छोरोलाई पर्खन के समस्या थियो ? यसमा लेखक र निर्देशक दुवै अपरिपक्व देखिएका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ मास्टरपिस सिनेमा हुने प्रबल सम्भावना हुँदाहुँदै यो सुनौलो अवसरबाट चुकेको चलचित्र हो । विजय बरालले खिपेर गरेको अभिनयले जोगाएको एक औसत चलचित्र हो । 

० ० ०

निर्देशक : सरोज पौडेल
निर्माता : विनोद पौडेल/प्याट्रिक सुवेदी 
कथा : सरोज पौडेल
पटकथा : महेश दवाडी 
कलाकार : विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, प्रकाश सपूत 
समयावधि : १४५ मिनेट
ब्यानर : सभेन सिज र बाँसुरी फिल्मस् 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro