site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा उपसभापति अर्यालको दौडधुप : रविलाई बचाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग लबिइङ !

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखरा जिल्ला अदालत परिसरमै कार्यकर्तालाई निर्देशन दिएका थिए, “केपी ओली नेतृृत्वको सरकार नढल्दासम्म सडक नछाड्नुस् ।”

यता रास्वपाका नेताहरू ‘लामिछाने बचाऊ’का निम्ति गृहमन्त्री–प्रधानमन्त्रीसँग भेट्दै हारगुहार गर्दैैछन् । 

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’ र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार सोमबार साँझ प्रधानमन्त्री भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूले प्रधानमन्त्रीलाई भेटेर सभापति लामिछानेलाई बचाइदिन आग्रह गरेको प्रधानमन्त्री निकटहरूबाटै सार्वजनिक भएको छ ।

रास्वपा कार्यकर्ताले आफ्नो पुत्ला जलाएको मात्र होइन घाटमै दाहसंस्कार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रामक बनेका थिए । तिनले ‘केपी चोर देश छाड’सम्मका नारा लगाइसकेका छन् ।

ओली र रास्वपाबीच तिक्त सम्बन्ध विस्तारित हुँदै गर्दा अर्याल र परियारले भेटेका हुन् । 

“रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार प्रधानमन्त्री निवासमा करिव ४५ मिनेट भेटेर बाहिरिनुभएको हो,” प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बाह्रखरीसँग भने, “उहाँहरूको आग्रह राज्यले लामिछानेप्रति पूर्वाग्रह राखिदिनुभएन भन्ने थियो । तर, सरकारले कुनै आग्रह राखेको छैन । संसदीय समितिको निर्देशन अनुरुपका प्रक्रिया अघि बढ्दा सरकारले रोक्न सक्ने कुरा भएन ।”

उपसभापति अर्यालले आफूले प्रधानमन्त्री र गृहमन्त्री दुवैसँग भेट गरेको उल्लेख गर्दै प्रधानमन्त्रीसँगको भेटमा प्रमुख सचेतक सन्तोष परियार पनि साथमा रहेको र गृहमन्त्रीसँग एक्लै भेटेको जानकारी दिए । 

उनले भेटको उद्देश्य आज (मंगलबार) बालुवाटारमा हुने प्रर्दशन शान्तिपूर्ण बनाउनेमा केन्द्रित रहेको बताए ।

“हामी बालुवाटारकेन्द्रित आन्दोलन गर्दैछौँ । प्रहरी हस्ताक्षेप नहोस् भयो भने नागरिक आक्रोशित हुन सक्छन् र शान्तिपूर्ण नरहन सक्छ भनेर मैले प्रधानमन्त्रीसँग आग्रह गरेको हुँ,” अर्यालले भने, “गृहमन्त्रीलाई पनि भेट्नुको उद्देश्य त्यही हो । त्यसबाहेक गृहमन्त्रीज्यूसँग मेरो अत्यन्त राम्रो सम्बन्ध भएर पनि भेट्न पाएको थिइन । शुभकामना दिन पनि भेटेको हुँ ।” 

उनले भेटमा सभापति लामिछानेको गिरफ्तारीका विषयमा पनि कुरा त भयो होला नि भन्ने प्रश्नमा त्यस विषयमा पनि कुराकानी भएको स्वीकार गरे । 
हिजो सहकार्य गरेको दल एमालेका अध्यक्ष प्रधानमन्त्री हुँदा भोलि पनि सहकार्य आवश्यक भएकाले भेट गरेको उल्लेख गर्दै भने, ‘‘कुनै नेता विशेषप्रति प्रतिशोध नबढाऔंै, इगो बढाउने काम नगरौँ भनेको छु ।’’

बाहिरै राखेर अनुसन्धान गर्न सकिने व्यक्तिलाई प्रतिशोध साँधेर किन थुनियो भन्ने कुरा आफूले राखेको जानकारी दिँदै अर्यालले भने, “संसदीय समितिको प्रतिवेदनले त ८७ अर्व ठगी भएको भनेको छ । ४० वटा सहकारी छन्, धेरैजना संचालक छन् । त्यो सबै ८७ अर्वको अभियोग रवि लामिछानेमाथि नै त होइनन् नि !” 

उता, एमालेजनले उक्त भेटलाई सहज लिएको देखिँदैन । एमालेका नेता विष्णु रिजालले त प्रधानमन्त्रीको पुत्ला जलाएर रात परेपछि प्रधानमन्त्रीसँगै आग्रह गर्नु नैतिक नहुने भनेर धारणा नै सार्वजनिक गरेका छन् । 
उनले रास्वपाले गरेको आग्रह जस्तो प्रधानमन्त्रीले मुद्दा फिर्ता लिइदिने कुरा सम्भव नभएको पनि उल्लेख गरेका छन् ।

“दिनभरि प्रधानमन्त्रीविरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति–राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ?,” रिजालले लेखेका छन् । 

राजनीतिमा धैर्य र इमानको आवश्यकता पर्ने भन्दै इमानमा बसेको व्यक्तिलाई अदालतले पनि नफँसाउने उल्लेख गरेका छन् । “यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ,” रिजालले लेखेका छन्, “डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।”

सभापति लामिछाने पक्राउसँगै उक्त पार्टीका नेता/कार्यकर्ता पोखरामा आन्दोलन गर्न पुगेका थिए । एक साता लामो पोखरा बासपछि बल्ल पार्टीगत स्वरुपमा फर्किएको थियो । यही कातिक १० गते शनिबार उपसभापति डीपी अर्यालको अध्यक्षतामा बसेको बैठकले नेताहरूको जिम्मेवारी पनि बाँडफाँट गरेको थियो । 

उपसभापति अर्यालको अध्यक्षतामा आन्दोलन परिचालन समिति र अर्का उपसभापति डा. स्वर्णिम वालेको अध्यक्षतामा राजनीतिक संवाद समिति गठन गरेको थियो । 

“उहाँहरूले कसरी कुरा गर्नुभयो । पार्टीको कार्यविभाजनमा संवादको जिम्मा उपसभापति डा. स्वर्णिम वाग्लेले पाउनुभएको हो,” रास्वपाका एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “उपसभापति डीपीजीको जिम्मा त आन्दोलन परिचालनको थियो । जसले थुन्ने निर्णय गर्यो उसैसँग संवाद किन र कसरी गर्नुभयो भन्ने कुरा पार्टीमा छलफल हुन बाँकी छ ।” 

रास्वपाका प्रवक्ता मनिष झा भने रास्वपाको आन्दोलन रवि बचाउन नभएको जिकिर गर्दै रविजस्ता अरुलाई किन छाडेको भनी प्रश्न गरिरहेको बताउँछन् । केपी शर्मा ओली वा अन्य कसैलाई रविलाई बचाइदेउ भन्ने नीति रास्वपाको नभएको उनी बताउँछन् । 

“हामीले रविलाई बचाइदिनुस् भनिरहेका छैनौँ । हामीले त रवि दाइमाथि मात्र किन प्रतिशोध साँधियो । उहाँजस्तै आरोप लागेको सत्तारुढ पार्टीका नेता कार्यकर्ता किन बचाइँदैछ भनेर प्रश्न गरेका हौं,” प्रवक्ता झाले बाह्रखरीसँग भने, “सहकारीसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनको एउटा पृष्ठ मात्र किन हेरियो । अरु पृष्ठका सिफारिस नहेरी उहाँमाथि मात्र कारवाही गर्नुले प्रतिशोध प्रमाणित हुँदैन ?”

प्रवक्ता झाले उठाएका विषय नागरिक सरोकारसँग जोडिने भएपनि रास्वपाका गतिविधि भने रवि लामिछाने बचाउमै केन्द्रित छन् । रास्वपाको १० कात्तिकको निर्णयको पहिलो नम्बरमा पनि रवि लामिछानेको अविलम्ब रिहाइको माग थियो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्