site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पूर्ण बहादुरको सारङ्गी’ : बेच्न सकिने सिनेमा भएको कलाकार र निर्माताको दाबी 

काठमाडौं । तिहारको छेको पारेर विजय बराल अभिनीत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन हुँदै छ । ‘काँधे कुरी’ गीतबाट दर्शकमा उत्सुकता बढाएको यो चलचित्रले गन्धर्व समुदायको कथा भन्नेछ ।

सारङ्गी बजाएर परिवार पाल्दै आएको यो समुदायको कथा चलचित्रले भन्दा उनीहरूको अवस्था र चाहको कथा पनि आउने निर्माण टिमले बताएको छ । यही नै सिनेमामा दर्शकले मन पराउने पक्ष हुने निर्माता विनोद पौडेलको दाबी छ ।

“नेपाली माटोको कथा जो कमै भनिन्छन्, यस्ता कथा देशमा मात्रै होइन विदेशमा पनि मन पराइन्छ,” उनी भन्छन्, “यस्तै नेपाली मौलिक कथा बोकेको सिनेमा हो, पूर्ण बहादुरको सारङ्गी । विदेशमा पनि बेच्न सजिलो हुने र पछिल्लो समय नेपालमा पनि मन पराइने कथामा यो सिनेमा बनेको छ ।”

Argakhachi Cement Island Ad

विषयमा मौलिकपन, अब्बल अभिनेताहरूको अभिनय र गीतको हाइपका कारण विदेशमा पनि ‘पूर्ण बहादुरको सारङ्गी’को माग रहेको अर्का निर्माता प्याट्रिक सुवेदी बताउँछन् । उनी भन्छन्, “देश दौडाहामा जसरी हाम्रो सिनेमालाई लिएर दर्शकमा उत्साह देखिएको साथीहरूले बताइरहनुभएको छ, मैले विदेशमा पनि त्यस्तै उत्सुकता र उत्साह पाएको छु ।” 

नेपाली सिनेमाका दर्शक विदेशमा पनि बढ्दै गएको उनी बताउँछन् । “नेपाली सिनेमा विदेशमा नेपालीले नै हेर्ने हो । ठूला सहरसँगै साना सहरमा पनि नेपाली सिनेमा हामीले देखाउन थालेका छौँ,” प्याट्रिक बाह्रखरीसँग भन्छन्, “नेपाली र नेपाली भाषी भुटानीहरू नेपाली सिनेमाका दर्शक हुन् ।”

नेपाली सिनेमा हेर्न नेपाली दुई/तीन घण्टा ड्राइभ गरेर आउने गरेका उनले सुनाए । “कतिपय नेपाली जो अंग्रेजी र हिन्दी भाषामा कमजोर हुनुहुन्छ वा इन्टरटेन गर्नु हुन्न भने उहाँहरूको पहिलो रोजाइ नै नेपाली सिनेमा हुने गरेको छ,” उनी अगाडि थप्छन्, “विशेष गरी नेपाली भाषी भुटानी शरणार्थीले नेपाली सिनेमा धेरै हेरेको मैले पाएको छु ।”

निर्देशक सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ अभिभावकले आफ्ना सन्तानका निम्ति गर्ने संघर्षको कथा भएको बताए । “हरेक अभिभावकले आफूभन्दा आफ्नो सन्तान अगाडि बढोस् भन्ने सपना देख्छ र त्यसका लागि संघर्ष गर्छ, त्यही कथा हामीले यो चलचित्रमा देखाएका छौँ,” उनी अगाडि थप्छन्, “पूर्ण बहादुरको सारङ्गी बाबु र छोराको इमोसनल सम्बन्धको कथा हो । हरेक बुवा र अभिभावकहरूका लागि समर्पित सिनेमा हो यो ।”

चलचित्रको मुख्य भूमिकामा रहेका विजय बराल सिनेमाको सार पुस्तान्तरणसँगै रूपान्तरण भएको बताउँछन् । गन्धर्व समुदायको सारङ्गी बजाउने पेसा र यसको रूपान्तरको कथा ‘पूर्ण बहादुरको सारङ्गी’को कथा सार भएको उनी बताउँछन् ।

“सारङ्गी बजाउने पेसालाई जोगाउँदै कसरी रूपान्तरण हुने अथवा गर्ने भन्ने कुरालाई यो चलचित्रले देखाउनेछ । आफ्नो सन्तानलाई आफूले सयौँ हन्डर र चोट सहेर पनि अगाडि बढाउन र पठाउन चाहने बुवाको संघर्षको कथा हो,” विजय बाह्रखरीसँग भन्छन् ।

विजयको यो पहिलो लिड रोल रहेको चलचित्र हो । त्यसैले यो आफ्ना लागि विशेष अवसर र जिम्मेवारी भएको उनको भनाइ छ । “सधैँ अरूलाई अगाडि लगाएर हिँडेको कलाकार यसपटक आफैँ अगाडि लागेर हिँडिरहेको छु,” उनी भन्छन्, “त्यसैले केही फरक महसुस भइरहेको छ ।”

यो चलचित्रमा मुकुन भुसालको पनि अभिनय छ । उनी आफू सपोर्टिङ क्यारेक्टरमा रहे पनि राम्रो रोलमा रहेको बताउँछन् । कुनै रोल छोटो भए पनि विशेष र अर्थपूर्ण हुने उनको भनाइ छ ।

“म लिड रोलमा काम गरिसकेको क्यारेक्टरले सहायक क्यारेक्टरमा खेल्नु हुँदैन भन्ने पक्षमा छैन,” उनी भन्छन्, “यसपछि म मुख्य भूमिकामा रहेको चलचित्र आउँदै छ । तर, यसमा सानो रोल भए पनि विशेष छ । कुनै समय सानो रोल भए पनि त्यसले ठूलो काम गर्छ ।”

चलचित्रमा विजयको अपोजिटमा रहेकी अन्जना बराइली ‘पूर्ण बहादुरको सारङ्गी’लाई लिएर दर्शकमा चासो रहेको बताउँछिन् । “हामी मोफसल टुरमा गएर भर्खरै फर्किएका छौँ । मोफसलमा यो सिनेमाका विषयमा धेरैलाई धेरै कुरा थाहा छ,” उनी भन्छिन्, “काँधे कुरी गीतका कारण दर्शकलाई यो चलचित्रलाई लिएर धेरै थाहा रहेछ । सिनेमाप्रति दर्शकको अपेक्षा पनि धेरै नै रहेको मैले पाएँ ।”

चलचित्र तिहारको अवसर पारेर कात्तिक १५ गते रिलिज गरिँदै छ ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् ।

निर्माता विनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्