site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानसँगको सीमानजिक इरानमा आक्रमण, १० सुरक्षाकर्मी मारिए 
सांकेतिक तस्बिर ।

काठमाडौं । इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश–अल–अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् । तफ्तान क्षेत्र पाकिस्तानको सिमानानजिक छ ।

इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको छ ।

Argakhachi Cement Island Ad

इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई ‘आतंकवादी’ हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन् ।

सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले शनिबार एक विज्ञप्तिमा यसको पुष्टि गर्दै भनेको छ, “तफ्तान सहरको गोहर कोह पुलिस स्टेसनका दुई गस्ती इकाईका १० प्रहरी मारिएका छन् ।”

जैश–अल–अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ । उनले भनेको छ, “तफ्तान सहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो ।”

जैश–अल–अदल एक सशस्त्र चरमपन्थी संगठन हो । यो संगठनले इरानी सरकारको विरोध गर्दछ । यो संगठनले आफूलाई न्याय र समानताको सेना पनि भन्ने गर्दछ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्