site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानमा इजरायली हमलाको तयारी देखाउने दस्ताबेजमा के छ ?

काठमाडौं । ‘म्यासेजिङ एप’ टेलिग्राममा गत शुक्रबार इजरायलले इरानमाथि हमला गर्न तयारी गरेको देखाउने कागजात ‘लिक’ भए । सार्वजनिक भएका दस्ताबेजमा इजरायलले इरानमाथि हमला गर्न सक्ने अमेरिकी अनुमान सामेल छन् ।

अमेरिकाले यस्तो अनुमान ‘स्याटलाइट’ तस्बिर र गुप्तचरी जानकारीका आधारमा गरेको बताइएको छ । आफ्ना दस्ताबेज लिक भएपछि अमेरिकाले यस विषयमा छानबिन गरिरहेको छ । मंगलबार ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बिले राष्ट्रपति बाइडेन कागजात लिक भएको विषयलाई लिएर निकै चिन्तित रहेको बताए ।

१ अक्टोबरमा इरानले इजरायलमाथि मिसाइल प्रहार गरेको थियो । त्यसयता इजरायलले इरानमाथि हमला गर्ने धम्की दिइरहेको छ । हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युको बदला लिन भन्दै इजरायलमाथि हमला गरेको दाबी इरानले गरेको थियो ।

जानकारहरूका अनुसार, लिक भएका दस्ताबेजमा लेखिएका ‘टप सिक्रेट’ ‘एफजीआई’ अर्थात् ‘फरेन गर्भनमेन्ट इन्टेलिजेन्स’जस्ता शब्द अमेरिकाले विदेशबाट संकलन गर्ने गोप्य जानकारीमा प्रयोग गर्ने गर्छ । यी दस्ताबेज अमेरिकाले बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डलाई दिएको हुनसक्ने अनुमान गरिएको छ । यी देशहरूलाई ‘फाइभ आइज अलायन्स’ पनि भन्ने गरिन्छ । यी देशहरूले एक आपसमा यस्ता गोप्य जानकारी एक–अर्कालाई दिने गर्छन् ।

यी दस्ताबेजमा इजरायलले इरानमा हमला गर्नका लागि तयारी गरिरहेको विवरण उल्लेख छ । लिक भएका दस्ताबेजमा इजरायलले दुई ब्यालिस्टिक मिसाइल– गोल्डेन होरिनज र रक्स प्रहार गर्न सक्ने दाबी गरिएको छ ।

रक्स लामो दुरीको मिसाइल हो, यो जमिन र आकाशमा हमला गर्न प्रयोग गरिन्छ ।

यी दस्ताबेजमा इजरायलले इरानका कुन स्थानमा कहिले हमला गर्छ भन्ने जानकारी भने छैन ।

गाजामा भोकलाई हतियार बनाउँदै इरायल
एकातिर इजरायलले इरानमाथि गर्न सक्ने सम्भावित हमलाका दस्ताबेज लिक भइरहेका छन् भने अर्कोतिर इजरायलले गाजावासीलाई भोकमरीमा राख्न खोजेको छ । बीबीसीका अनुसार, इजरायलले गाजामा भोकलाई नयाँ हतियारका रूपमा प्रयोग गरिरहेको छ । संयुक्त राष्ट्र संघको मानविय मामिला र आपत्‌कालीन सहायता संयन्त्रका अनुसार, इजरायलले २ देखि १५ अक्टोबरको अवधिमा उत्तरी गाजामा पठाइने सबै खाद्य सहायता रोकेको थियो ।

गाजाको यातायातको सम्पूर्ण नियन्त्रण इजरायली सैनिकको हातमा छ । इजरायली सैनिकका अनुसार, १ देखि १२ अक्टोबरसम्म गाजामा ५ हजार ८४० टन खाद्य सामग्री पुगेको थियो । तर, सेप्टेम्बरमा ७५ हजार ८९८ टनमात्र खाद्य सामग्री गाजा छिर्न पायो ।

उत्तरी गाजामा दुई हप्ता खाद्यान्न नपुगेपछि संयुक्त राष्ट्र संघले त्यहाँ भोकमरी सुरु हुने चिन्ता जाहेर गरेको छ । यता, अमेरिकाले पनि इजरायललाई गाजाको खाद्यान्न नरोक्न आग्रह गरेको छ । अक्टोबर १ देखि १५ सम्म संयुक्त राष्ट्र संघले राशिद नाकाबाट ५४ पटक खाद्य सामग्री गाजामा पठाउन खोजेको थियो  । तर, इजरायलले एकपटक मात्र खाद्य सामग्री पठाउने अनुमति दियो ।

विश्व खाद्य कार्यक्रमका अनुसार, उत्तरी गाजामा तुरुन्तै खाद्य सामग्रीको आपूर्ति सुरु नगरेमा डेढ हप्तामा भोकमरी सुरु हुने अवस्था छ । इजरायली सेनाका अनुसार, उनीहरूले उत्तरी गाजामा आफ्नो सैन्य अभियान सुरु गरेका छन् । इजरायली सेनाले उत्तरी गाजाबाट मान्छेलाई दक्षिणी गाजातर्फ जान निर्देशन दिएका छन् ।

खाद्यान्नको अधिकारका लागि संयुक्त राष्ट्र संघीय दूत माइकल फाखरीका अनुसार, इजरायलले गाजामा भोकमरीको नीति अपनाएको हो । उनी भन्छन्, "हामीले इजरायलको भोकमरी अभियानको असर देखेका छौँ । जसले मृत्युदर बढाएको छ, भोकसँगै मान्छेहरू डिहाइड्रेसन र बिमारीले मरिरहेका छन् ।"

संयुक्त राष्ट्र संघको सहयोगमा चल्ने ‘इन्टिग्रेटिड फुड सेक्युरिटी फेज क्लासिफिकेसन’को सोमबार आएको रिर्पोट अनुसार साढे ६ लाखभन्दा बढी मान्छेहरू भोकको आपत्‌कालीन अवस्थामा छन् । करिब डेढ लाख मान्छेहरू भोकको भयावह अवस्थाको सामना गरिरहेका छन् । प्यालेस्टिनका लागि संयुक्त राष्ट्र संघको सहायता विभाग प्रमुखले उत्तरी गाजाका बासिन्दाका लागि खाद्यान्न सामग्री पुर्‍याउन तत्काल यस क्षेत्रमा हमला रोक्न आग्रह गरेका छन् ।

गत वर्षको अक्टोबरदेखि सुरु भएको युद्धमा अहिलेसम्म ४२ हजार भन्दा धेरै गाजावासीको मृत्यु भइसकेको छ ।

बीबीसी हिन्दीबाट

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro