site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
प्रवासको दसैँ : कतै खुसी कतै पीडा 

अस्ट्रेलिया । नेपाली विद्यार्थीको रोजाइको देश अस्ट्रेलियामा पनि यतिखेर दसैँको रौनक छ । नेपाली तथा भारतीयहरूले विदेशमा पनि दसैँ मनाउने गर्छन् । करिब दुई लाखको हाराहारीमा नेपाली बसोबास गर्ने अस्ट्रेलियामा पनि नवदुर्गा पूजा र दसैँको चहल पहल बढेको छ । यसपटक अस्ट्रेलियामा आइतबार दसैँ मनाइँदै छ ।  

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने क्रममा करिब एक लाख नेपाली विद्यार्थी विभिन्न सहरमा छरिएर रहेका छन् । अरू एक लाख विभिन्न स्थायी भिसा, पीआर र नागरिकका रूपमा छन् । 

विद्यार्थीका लागि काम र पढाइका कारण दसैँ खासै रमाइलो बन्न नसके पनि स्थायी रूपमा बसेकाहरूका लागि प्रवासमा पनि यो पर्व महत्वत्त्वपूर्ण बन्दै आएको छ । 

प्रायः नर्सिङ होम र रिटेल सपहरूमा बढी नेपाली कामदार भएकोले दसैँमा बिदा मिलाउन निकै अप्ठ्यारो हुने भएकोले काम सकेर टीका लगाउने सोचमा छन् सिड्नीकी नेपाली विद्यार्थी सदीक्षा खत्री  । “हाम्रो नर्सिङ होममा छ महिना अघिदेखि दसैँको बिदा लिने होड चलेको थियो । तर मैले एक महिनाअघि मात्र भने त्यसैले बिदा पाइएन,” उनले भनिन्, “काम सकेर आउने अनि थकित मुद्रामा तयारी भएर टीका लगाउँदा दसैँको रमाइलो के होला र ?” दसैँको दिन पनि काम गर्नुपर्ने पीडालाई उनले सुनाइन् ।

अर्की नेपाली विद्यार्थी एन्जिला केसी काममा बिदा नदिएकोले दसैँ नरमाइलो हुने बताउँछिन् । “टीकाको दिन बिहानैदेखि रमाइलो गर्ने, टीका थाप्ने खानपिन गर्न पाए त रमाइलो हुन्थ्यो,” उनले भनिन्, “त्यही नपाएपछि काम सकेर नेपालमा आमा बालाई फोन गर्यो, आँशु झार्यो अनि दसैँ सिद्धियो ।” 

नाता गोता र आफन्त भएका विद्यार्थीका लागि टीकाको झल्को मेट्ने ठाउँ पनि हुन्छ तर त्यति पनि नहुनेको लाग विदेशमा पर्व खुसी हैन पीडामा बित्ने अर्की नेपाली विद्यार्थी स्नेहा घिमिरे बताउँछिन् । 

दसैँका लागि नेपालबाट बाबुआमा बोलाएर ग्रानभिलका व्यवसायी प्रकाश भट्टराईले ४० किलोको खसी किनिसकेका छन् । बुबाआमा आएपछि उनको दसैँ दुई दिन अगाडिबाट सुरु भइसकेको छ । “वर्षमा एकपटक आउने चाडमा रमाइलो गर्नै पर्‍यो  । अरू बेला काम गरिएकै छ, प्रकाश भन्छन्,” उनी भन्छन् ।  

यता, सिड्नीको रकडेलस्थित एभरेष्ट बुचरीका महेश प्रसाईं (म्याक्स) पछिल्लो केही दिनदेखि दिनको सरदर एक हजार खसी बिक्री भएको बताउँछन् । “मासु पुर्‍याउन हम्मेहम्मे परेको छ । दसैँमा सबैलाई दिनै पर्‍यो,” म्याक्स भन्छन् । 

म्याक्सले फार्मबाट खसी किनेर प्रशोधन गरेर सिड्नीलगायत विभिन्न सहरहरूमा मासु सप्लाइ गर्छन् । खसीको माग बढेर आपूर्ति समेत गर्न नसकेको अवस्थामा फार्ममा भीड लागेको देख्न सकिन्छ । 

ग्रानभिल नेपाली सोसाइटीले त्यस वरपर बस्ने नेपाली अभिभावकको चाहनाअनुरूप दसैँमा पार्कतिर कार्यक्रम समेत आयोजना गरेको सोसाइटीका अध्यक्ष भीम बस्नेतले बताए । विदेशमा छोराछोरी भेट्न र नातिनातिनीको मुख हेर्न आएका आमाबुबाहरूलाई दसैँमा नरमाइलो नहोस् भन्ने उद्देश्यले अभिभावकलाई केन्द्रित गरेर दसैँमा भेटघाट आयोजना गरेको बस्नेतले सुनाए । नेपालबाट अस्ट्रेलिया पुगेका हजारौँ अभिभावकहरूलाई चाडबाडमा खल्लो नहोस्, एकअर्कामा परिचय र शुभकामना आदानप्रदान हो्स भन्ने हाम्रो उद्देश्यले अस्ट्रेलीयाका विभिनन सहरहरूमा टीका कार्यक्रमको आयोजना गरिएको पर्थका युवा अभियन्ता मनिष सिग्देलले  बताए । 

अस्ट्रेलियाका विभिन्न समुदाय र समाजिक संघसंस्थाले पनि विद्यार्थीको हितमा रहेर दसैँ तथा टीका कार्यक्रमको पनि आयोजना गरेका छन् । पर्थमा नेपाली विद्यार्थीलाई आपसी भाइचाराअभिबृद्धी र दसैँ पर्व मनाउने कार्यक्रमको आयोजना गरिएको एनआरएन पर्थका युवा मिक्की सुवेदीले बताए ।
 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro