site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
दसैँको गहिराइ हरायो

मेरो बाल्यकालले दुई ठाउँका दसैँ भोग्यो, भुटानको देन्छुखा भन्ने ठाउँको दसैँ र झापाको दसैँ । भुटान भन्नेबित्तिकै ओहो, त्यो त बुद्धमार्गी देश, त्यहाँ त दसैँ भन्ने के हुँदो हो र ! भन्ने पनि लाग्न सक्छ । तर, त्यसो होइन । मेरो बाल्यकाल बितेको गाउँठाउँ उनान्सय प्रतिशत नेपाली जातिको बसोबास भएको ठाउँ थियो । र, त्यहाँका नेपालीहरूले दसैँलाई बहुत भव्यताका साथ मनाउँथे ।

त्यो ठाउँ सांस्कृतिक, धार्मिक वा सामाजिक परम्पराका हिसाबले ताप्लेजुङ, पाँचथर वा इलामजस्तै थियो । दसैँको मिति आउनुभन्दा दुई महिनाअघिदेखि नै मानिसहरूलाई दसैँ लाग्थ्यो । उनीहरू दसैँको जोहो गर्न बेलैदेखि थाल्थे । रातोमाटो र कमेरो पाइने पाखाहरूमा महिलाहरूको भीड हुन्थ्यो ।

घरहरू प्रायः सबै ढुंगामाटोका गारा लगाएर परालले छाएका हुन्थे । कुबिरलाल महाजनले घरमा जस्ताको छानो लगाउँदा सारा गाउँलेहरूका लागि अर्कै दसैँ आएको घटना म अलिअलि सम्झन्छु । प्रायः घरहरू दुईतले हुन्थे । अलि हुनेखानेका तीन तलासम्मका घर हुन्थे, त्यस्ता घर फाट्टफुट्ट देखिन्थ्यो ।

Dabur Nepal

दसैँ आउनु एक महिनाअघिदेखि गाउँभरि बिहान अँध्यारैदेखि ढिकीमा चिउरा कुटेको आवाज आउँथ्यो । दहीचिउरा, केरा, खसीको मासु दसैँका मुख्य परिकार थिए ।

दसैँ आउनु डेढदुई महिनाअघिदेखि हाम्रो ध्यान नयाँ लुगामा जान्थ्यो । बुबाले साम्ची बजारबाट किनेर ल्याएका नयाँ लुगा हामी सुँघ्दै राख्दै गर्थ्यौँ, जबसम्म घरमा दर्जीको आगमन हुँदैनथ्यो ।

गाउँभरिमै लुगा सिलाउने दर्जी एकजना मात्रै थिए । उनी श्रीमतीसहित आफ्ना बालीघरहरूमा पालो मिलाएर घरमै आएर लुगा सिलाइदिन्थे । हामी केटाकेटी आफ्नो पालो पहिला ल्याउन तँछाड मछाड गर्थ्यौँ । कुनैकुनै वर्ष दसैँ सकिएपछि मात्रै लुगा सिलाउने पालो पनि आइपुग्थ्यो ! त्यस्तो हुँदा मन साह्रै खिन्न हुन्थ्यो ।

दसैँमा घरघरमै खसी काट्ने चलन थिएन । गाउँभरिमा केही घरमा विशेष गरी क्षत्रीका घरमा खसी काट्थे । हामी सधैँ बिष्ट बाबैकहाँबाट सिकार ल्याएर दसैँ मनाउँथ्यौँ । दसैँमा लिंगेपिङ र रोटेपिङ अनिवार्य लगाइन्थो ।

सामान्य साइनो लाग्ने वा बनावटी साइनो भएका घरमा पनि टीका लगाउन जाने चलन थियो । परदेशको ठाउँ भएर पनि होला, मानिसहरूमा आत्मीयता र प्रेमको भावना थियो । त्यसले गर्दा पनि रगतको भन्दा प्रेमको सम्बन्धले जितेको थियो ।

गाउँका मुखिया वा मानौँ गाविस अध्यक्षको रूपमा मण्डल हुन्थे । मैले जानेको समयमा हाम्रो गाउँका मण्डल एकजना घिसिङ बा थिए । दसैँमा सबै गाउँलेहरूले आआफ्नो गच्छेअनुसार उनकोमा चिउरा, केरा, दही, दूध, मासु आदि उपहार लैजानुपर्थ्यो । नलगेमा सायद जरिवाना पनि भर्नुपर्थ्यो होला ।

बुबाका पछि लागेर केहीपटक म पनि उपहार लिएर गएको सम्झना छ । त्यस्ता ठूलामान्छेका घरमा जानु, उनको दर्शन पाउनु, उनले हामीजस्ता साना केटाकेटीलाई बोलाउनु – बाफरे बाफ ! हाम्रा लागि त्यो राजाकै दर्शन पाएसरह हुन्थ्यो ।

मण्डलका घरमा बन्दुक पड्केपछि गाउँभरि टीका खुल्थ्यो ।

यता झापा, गौरादहको दसैँ पनि उताकै जस्तो थियो । तर, यता कमेरो र रातोमाटोको जोरजाम गर्नु पर्दैनथ्यो । काठका घरहरूमा बढारकुँढार गरेर, माकुराका जालो पन्छाएर, घर वरपरका झारजंगलको सरसफाइ गरेर दसैँ बोलाइन्थ्यो ।

ढिकीमा चिउरा कुट्ने क्रम झापामा पनि चालु थियो । बिहानका रातिदेखि आमादिदीहरू चिउरा कुट्नुहुन्थ्यो । हामी केटाकेटी चिउराका लट्टा खान ढुकेर बस्थ्यौँ । यता बालीका दर्जीहरू छुटे । बजारमा लुगा सिउन दिन थालियो ।

भएभरका आफन्त र कुनै साइनो लगाएर भए पनि जहानपरिवारै टीका लगाउन जाने चलन पछिसम्मै थियो । एकदुई दाना स्याउ वा आधा काइँयो केरा वा आधा पाउ चिनी वा एक डल्लो मिस्रीको कोसेली लिएर जाने । निधारको वल्लो छेउदेखि पल्लो छेउसम्म रातै टीका लगाएर घरघरमा त्यसैमाथि टीका थोपरेर लगाइन्थ्यो ।

यातायातका साधन नपाएर बिचल्ली हुन्थ्यो । बस बिसौनीहरूमा टीका लगाउन जाने मानिसहरूको कुँडुलो हुन्थ्यो । बलियाबांगाहरू गाडीका छतमा चढ्थे, महिला बालबालिकाहरू भीडमा चेप्टिएर चिच्याउँथे । तर, जसरी पनि टीका थाप्न जानैपर्थ्यो ।

हामी जान्थ्यौँ । थोरबहुत दक्षिणा पनि जम्मा गर्थ्यौँ । त्यसरी जम्मा गरेको पैसाले हटियाका दिन गौरादह बजारमा जुलफी खाइन्थ्यो, फोटो खिचाइन्थ्यो ।

अब हरायो वा हराउँदै गयो – रातोमाटो र कमेरो, बालीवाला दर्जीको प्रचलन, ढिकीका चिउरा, लट्टाको बास्ना, टीका लगाउन हिँड्ने जहानपरिवारको लस्कर, बस र जीपमा मान्छेको कुँडुलो, गाई बेचेको साइनो लगाएर टीका लगाउन जाने प्रचलन, रोटेपिङ, राता अक्षताले भरिएका अनुहार इत्यादि ।

दसैँबाट गहिराइ हरायो, अब औपचारिकता मात्रै बाँकी छ !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro