काठमाडौं । गएको बिहीबारदेखि शनिबारसम्मको अविरण वर्षाले देशभर विपत्ति निम्त्यायो । १० असोजदेखि १२ असोजसम्म देशभरका २५ स्थानमा 'रेकर्ड ब्रेक' वर्षा भयो । यस वर्षाले सबैभन्दा धेरै काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा क्षति गर्यो ।
गृह मन्त्रालयको विपद् पोर्टलका अनुसार, मंगलबार अपराह्नसम्म काभ्रेमा ६३ जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार, काभ्रेमा पहिरोमा परेर ६० जनाको मृत्यु भयो भने बाढी र अति वर्षाका कारण तीन जनाको मृत्यु भएको हो ।
८ असोजदेखि १५ असोजसम्मको बाढी पहिरोको तथ्यांक अनुसार, आठवटा ठूला पूर्वाधारमा क्षति पुग्यो, २१ जना घाइते भए । ३८ स्थानमा पहिरो गयो भने दुई स्थानमा अत्यधिक वर्षा भयो । दुई खोलामा बाढी आयो ।
काभ्रेका मण्डनदेउपुर, बनेपा, पनौती, बेथानचोक, नमोबुद्ध, धुलिखेल, रोशीमा बाढी पहिरोले करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट गरेको छ । काभ्रेका १३ वटा स्थानीय तहमध्ये सातवटा बाढीपहिरोको चपेटामा परेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, काभ्रेको धुलिखेल र पाँचखालमा 'रेकर्ड ब्रेक' वर्षा भयो । पाँचखालमा सन् १९९९ को सेप्टेम्बरमा २४ घण्टाको अवधिमा १४५ मिलिमिटर वर्षा भएको थियो । तर, यस वर्ष पाँचखालमा २४ घण्टाका अवधिमा २३२.५ मिलिमिटर वर्षा भयो । त्यसैगरी, धुलिखेलमा सन् २००२ को जुलाईमा २४ घण्टाको अवधिमा २२० मिलिमिटर वर्षा भएको थियो । यस वर्ष भने २४ घण्टाको अवधिमा २२४.६ मिलिलिटर वर्षा भयो ।
यही 'रेकर्ड ब्रेक' वर्षाका कारण काभ्रेमा बाढी र पहिरोको प्रभाव बढी भएको बताउँछन्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका सहसचिव इन्जिनियर अरूण कुमार बम । उनी भन्छन्, "अत्यधिक वर्षाले गर्दा यसपटक काभ्रेपलाञ्चोक र काठमाडौं उपत्यकामा अन्यत्रको तुलनामा बढी क्षति भएको देखिन्छ ।"
प्राधिकरणले यस वर्षको मनसुनमा काभ्रेका चार लाख १२ हजार २०९ घरधुरी प्रभावित हुने आँकलन गरेको थियो । यीमध्ये ८३ हजार घरधुरी अत्यधिक प्रभावित हुने प्राधिकरणको आँकलन थियो ।
पछिल्ला वर्षहरूमा मनसुनको समयमा सिन्धुपालञ्चोक, दोलखा, काभ्रेपलाञ्चोकमा बर्सेनि बाढीपहिरो गइरहन्छ । प्राधिकरणका इन्जिनियर बमका अनुसार, २०७२ को भूकम्पले यी जिल्लाको जमिनमा खुकुलो बनाएकाले वर्षामा बाढीपहिरोको जोखिम बढेको छ ।
बेलायतको डरहम विश्वविद्यालयले र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले संयुक्तरूपमा गरेको एक अध्यनअनुसार, काभ्रेपलाञ्चोकको भुम्लु, चौँरीदेउराली, धुलिखेल, खानीखोला, महाभारत, मण्डनदेउपुर, नमोबुद्ध, पनौती, पाँचखाल र तेमाललगायत ठाउँहरू पहिरोको जोखिममा छन् ।
खानी तथा भूगर्भ विभागकी प्रवक्ता तथा भूविज्ञान महाशाखा प्रमुख मोनिका झा ०७२ को भूकम्पले जमिन चिरा पारेको र हल्लाएको जमिनमा दुई दशकभन्दा बढी समयसम्म पहिरोको जोखिम हुने बाताउँछिन् ।
"भूकम्पले चिरा पारेको र हल्लाएको जमिन खुकुलो भएको हुन्छ । यो जमिनमा धेरै पानी परेपछि पहिरोको रूप लिन्छ । भूकम्प गएको क्षेत्रमा २०औँ वर्षसम्म पहिरोको जोखिम हुन्छ," उनले भनिन् ।
यसबाहेक प्राधिकरणले नै २०७२ भूकम्पले अतिप्रभावित १४ जिल्लामा पहिरोको उच्च जोखिम रहेको बताउँदै आएको छ । प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ मा लेखिएको छ, "भूकम्पका कारण चिरा परेको जमिनमा बर्खाको समयमा भित्री भागसम्म पानीको प्रवाह हुने र जमिन कमजोर भई पहिरो जाने सम्भावना रहन्छ ।"
बाढीपहिरोले बीपी राजमार्गको काभ्रे खण्डको अधिकांश भागमा क्षति पुगेको छ । रोशी खोला, नमोबुद्ध र पनौती क्षेत्रमा सयौँ मानिस घरबारविहीन भएका छन् । खानी तथा भूगर्भ विभागकी प्रवक्ता तथा भूविज्ञान महाशाखा प्रमुख झाका अनुसार, काभ्रे, दोलखा, सिन्धुपाल्चोकको भौगर्भिक बनोट नै कमजोर छ । भूकम्पले हल्लाएको जमिनमा थपिएको अविरल वर्षाले पहिरोको उच्च जोखिम छ ।
"हाम्रो विभागले भूकम्पले अति प्रभावित पारेका जिल्लाहरूमा पहिरोको जोखिम अध्ययन गरेर गृह मन्त्रालयलाई बुझाएको थियो," उनले भनिन्, "त्यो अध्ययनमा काभ्रे पनि पहिरोको उच्च जोखिममा देखिएको थियो ।"
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनअनुसार देशभरमा दुईहजार ९० घर बाढीपहिरोको उच्च जोखिममा छन् । बाढी तथा पहिरोको घरहरू स्थानान्तरण गर्नुपर्ने प्राधिकरणको अध्ययनले देखाउँछ । प्राधिकरणले देशभरका ५४६ बस्तीको अध्ययन गरेको थियो । प्राधिकरणका अनुसार, अध्ययन गरिएका बस्तीहरूका ३३८ घर क्षतिग्रस्त भइसकेका छन् ।
कुन प्रदेशमा कति घर जोखिममा छन् ?
प्राधिकरणका अनुसार, देशभरका दुईहजार ६७८ घरहरू बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिममा छन् । यीमध्ये दुईहजार ९० घर उच्च जोखिममा छन् । प्राधिकरणले अध्ययन गरेकामध्ये कतिपय बस्तीहरू बस्नै नमिल्ने अवस्थामा छन् ।
प्राधिकरणका अनुसार, ११ स्थानका पूरै बस्ती नै सार्नुपर्ने अवस्थामा छन् । देशभरका २७ बस्ती उच्च जोखिममा छन् । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भन्छन्, "कतिपय स्थानमा सिंगै बस्ती सार्नुपर्ने छ भने कतिपय ठाउँमा घरहरू मात्र सारे हुने अवस्था छ ।"
प्राधिकरणका अनुसार, बाढीपहिरको उच्च जोखिमा १० वटा विद्यालय पनि छन् । प्राधिकरणले गरेको बस्तीको जोखिम अध्ययनअनुसार अध्ययन गरिएका बस्तीहरूका ३०३ घर क्षतिग्रस्त भइसकेका छन् ।
प्राधिकरणको अध्ययनअनुसार, सबैभन्दा धेरै जोखिममा रहेका घरहरू वाग्मती प्रदेशमा छन् । वाग्मती प्रदेशमा एक हजार ९७ घर जोखिममा छन् । कोसी प्रदेशमा ५२२ घर जोखिममा छन् । लुम्बिनी प्रदशेमा ५१३ र गण्डकी प्रदेशमा ३०५ घर जोखिममा छन् । सुदूरपश्चिममा २३२ र कर्णाली प्रदेशमा नौवटा घर जोखिममा छन् ।
सुदुरपश्चिम
सुदुरपश्चिम प्रदेश प्रदेशका अछाम, डडेल्धुरा र बाजुराका २३२ घर उच्च जोखिममा छन् । अछामका कमलबजार नगरपालिका, पञ्चदेव विनायक नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, मेल्लेख गाउँपालिका र रामोशन गाउँपालिका १५७ घर उच्च जोखिममा छन् । यी घरहरू सार्नुपर्ने अवस्थामा रहेको प्राधिकरणको अध्ययनले देखाएको छ ।
तुर्माखाँद गाउँपालिका, कमल बजार नगरपालिका र रामारोशन गाउँपालिकाम ६ वटा घर क्षतिग्रस्त भइसकेका छन् ।
डडेल्धुराको गन्यापधुरका दुई घर उच्च जोखिममा छन् । आलितालका ७३ घर उच्च जोखिममा छन् । बाजुराको जगन्नाथ गाउँ नै पहिरोको जोखिममा छ ।
कर्णाली
कर्णाली प्रदेशका कालिकोट र दैलेखका केही घर जोखिममा छन् । प्राधिकरणका अनुसार, कालिकोटको तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, दैलेखको नारायण नगरपालिकाका गरी नौवटा घर पहिरोको उच्च जोखिममा छन् ।
लुम्बिनी
लुम्बिनी प्रदेशका दाङ, प्युठान, पाल्पा र अर्घाखाँचीका ५१३ घरहरू भौर्गभिकरूपमा उच्च जोखिममा छन् ।
दांगको बंगलाचुली गाउँपालिका पहिरोको जोखिममा छ । यहाँका २६८ घर र एउटा विद्यालय पहिरोमा परेर क्षतिग्रस्त भइसकेका छन् । यही गाउँपालिकाका १९० घर र सात विद्यालय अझै जोखिममा छन् । त्यसैगरी, प्युठानको माण्डवी गाउँपालिका पनि पहिरोको जोखिममा छ । पाल्पाको निस्दीका २२ घर र अर्घाखाँचीको सितगंगांका ३३ घर पहिरोको उच्च जोखिममा छन् ।
गण्डकी
प्राधिकरणको अध्ययन अनुसार, गण्डकी प्रदेशका लमजुगङ, स्याङ्जा, गोरखा, म्याग्दी, पर्वत, तनहुँ, कास्की र बाग्लुङका ३०५ घर उच्च जोखिममा छन् ।
लमजुङको सुन्दरबजारका २० घर र मर्स्याङ्दीका १३ घर जोखिममा छन् । त्यसैगरी, लमजुङकै दोर्दी गाउँपालिका पनि पहिरोको जोखिममा छ ।
स्याङ्जाको गल्याङका २० घर जोखिममा छन् । त्यसैगरी, स्याङ्जाकै वालिङ नगरपालिकाको १, ३, ८ र १४ नम्बर वडा पनि जोखिममा छन् ।
गोरखाको चुमनुब्रिका ८० घर पहिरोको उच्च जोखिममा छन् । प्राधिकरणका अनुसार, यी घर तत्काल सार्नुपर्ने अवस्थामा छन् । गोरखाकै आरूघाका ४२ घर उच्च जोखिममा छन् । प्राधिकरणका अनुसार, यहाँ दुई घर विस्थापित भइसकेका छन् ।
म्याग्दीको मग्लाङ गाउँका ३६ घर उच्च जोखिममा छन् । यस गाउँबाट सात घर अन्यत्र स्थानान्तरण गरिएको प्राधिकरणले बताएको छ । त्यसैगरी, पवर्तको जजलामा आठ घर पहिरोको जोखिममा छन् ।
बागलुङको निसिखोलाका २० घर, ढोरपाटनका चार र तमन खोलाका ३५ घर बाढी तथा पहिरोको उच्च जोखिममा छन् । तनहुँको भिमादमा सात घर र व्यासमा दुई घर उच्च जोखिममा छन् । कास्कीको पोखरामा १८ घर जोखिममा छन् ।
वाग्मती
वाग्मती प्रदेशको सिन्धुपाल्चोक, दोलखा, धादिङ, रसुवा, नुवाकोटका एक हजार ९७ घर जोखिममा छन् ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका ३२ घर, पाँचपोखरी चौतारा साँगाचोकगढी २२ घर, हेलम्बु गाउँपालिकाका सात घर, जुगल गाउँपालिका १७ घर, पाँचपोखरी थाङपालका १०४ घर र बलेफीका ३७ घर जोखिममा छन् । त्रिपुरा सुन्दरीका १६६ घर, बाह्रबिसेका ८७ घर, भोटेकोसीका ३४ घर उच्च जोखिममा छन् । हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपालका केही बस्ती सार्नुपर्ने अवस्थामा रहेको प्राधिकरणको अध्ययनले देखाएको छ ।
दोलखाको मेलुङ गाउँपालिकाको ७ नम्बर वडा र चौरीदेउराली गाउँपालिकाको वडा नम्बर २ पहिरोको जोखिममा छन् । तामाकोसीका २७, कालिञ्चोकका ५७ र गौरीशंकरका ४८ घर जोखिममा छन् ।
धादिङको रुबी भ्याली गाउँपालिकाको १, २, ३, ४ वडाका ५१ घर पहिरोको जोखिममा छन् । रुबी भ्यालीकै सिचाय गाउँका ४५ घर जोखिममा छन् । गंगाजमुनामा ३५ घर सामान्य जोखिममा छन् ।
नुवाकोटको सूर्यगढी गाउँपालिकाको वडा नम्बर १ पहिरोको जोखिममा छ । नुवाकोटकै दुप्चेश्वर गाउँपालिका र शिवपुरी गाउँपालिका–६ गुर्जेमा ६ वटा बस्ती पहिरोको जोखिममा छन् । रसुवा नौकुण्डका नौ बस्तीका ३२८ घर पहिरोको जोखिममा छन् ।
कोसी
कोसी प्रदेशका ओखलढुंगा, धनकुटा, पाँचथर र ताप्लेजुङका ५२२ वटा घर जोखिममा छन् । प्राधिकरणका अनुसार, ओखलढुंगाका ४१ घर उच्च जोखिममा छन् भने तीन घर क्षतिग्रस्त भइसकेका छन् ।
धनकुटा साँगुरीगढी गाउँपालिका २१ घर क्षतिग्रस्त भइसकेका छन् भने त्यहाँ अझै ७९ घर उच्च जोखिममा छन् । प्राधिकरणका अनुसार, यी घर स्थानन्तरण गर्नुपर्ने देखिन्छ । चौबिसे गाउँपालिका १८ घर उच्च जोखिममा छन भने यही गाउँपालिकाका ४१ घरमा आंशिक क्षति पुगेको छ ।
पाँचथरको फाल्गुनान्द गाउँका ३४ घर, मिक्लाजुङका चार घर उच्च जोखिममा छन् । यी घर तत्काल सार्नुपर्ने प्राधिकरणको अध्ययनले देखाउँछ । त्यसैगरी, तुम्बेबा गाउँका ११ घर जोखिममा छन् ।
ताप्लेजुगंको मोवा खेला ७८ घर र सिदिङबाका २५७ घर उच्च जोखिममा छन् ।
प्रदेश | जोखिममा रहेका घर | अति जोखिममा रहेका घर |
सुदूरपश्चिम | २३२ | |
कर्णाली | ९ | |
लुम्बिनी | ५१३ | |
गण्डकी | ३०५ | |
वाग्मती | १,०९७ | |
कोसी | ५२२ | |
जम्मा | २,६७८ | २,०९० |